काठमाडौं । एमालेसँग नेपाली कांग्रेस पनि संसद पुनःस्थापनाकै पक्षमा उभिएको छ । एमालेले संसद् पुनःस्थापनाका लागि अदालतमा रिट लिएर जाने तयारी गरिरहेका बेला कांग्रेसका तत्कालीन सांसदले पनि हस्ताक्षर अभियान थालेको हो ।
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी रिटउपर संवैधानिक इजलासमा भएको प्रारम्भिक बहसमा प्रत्यक्ष सरोकारवाला सांसदहरूको रिट परेको–नपरेकोबारे कुरा उठेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा सांसदका तर्फबाट रिट लैजाने तयारी भएको हो । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने पनि कांग्रेसले चुनावमा जाने तयारी गरेको थियो ।
तर, प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालत जानेबारे सिंगापुरमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच पटक–पटक कुराकानी भएको नेताहरूले बताएका छन् । देउवाको निर्देशनपछि प्रतिनिधिसभामा तत्कालीन कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले हस्ताक्षर संकलन सुरु गरिसकेका छन् । घिमिरेका अनुसार आइतबारसम्म ३५ सांसदले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर गर्नेमा संस्थापन पक्षका सदस्य धेरै छन् । प्रारम्भिक दिनमा संसद् पुनःस्थापनाको पक्षमा वकालत गरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला पछिल्लो समय भने पुनःस्थापनाले भन्दा निर्वाचनले राजनीतिक निकास दिने बताउन थालेका छन् । यता एमाले अध्यक्षले सानेपामा २८ असोजदेखि चलिरहेको कांग्रेस बैठकमा पनि चासो दिइरहेका छन् ।
ओलीले कांग्रेस सभापति देउवामार्फत संसद् पुनःस्थापनाको मुद्दामा सँगै अघि बढ्नुपर्ने बताउँदै आएका छन् । ओलीका कुरामा देउवा सकारात्मक भएरै हस्ताक्षर गर्न लगाइएको कांग्रेसका एक पदाधिकारीको भनाइ छ ।
यद्यपि देउवाले केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए । संविधानलाई कम क्षति हुने गरेर राष्ट्रपतिले तत्कालीन संकटबाट निकास निकालेको भन्दै देउवाले धन्यवादसमेत दिएका थिए । विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक रहेका महेश बर्तौलाले रिट लैजाने प्रयोजनका लागि एमालेले पनि बिहीबारदेखि हस्ताक्षर संकलन थालेको पुष्टि गरेका छन् ।
संयुक्त रिट लिएर जाने कि एक्लाएक्लै भन्नेमा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससँग पनि सरसल्लाह भइरहेको बर्तौलाको भनाइ छ । एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डा पहिलो प्राथमिकतामा राखे पनि निर्वाचनको मुद्दालाई भने अझै छाडिसकेको छैन ।
चुनाव हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर एमालेले देशभर जनजागरण अभियानमार्फत संगठनात्मक अभियान पनि चलाइरहेको छ । एमालेले जेन–जी पुस्तालाई समेटेर वडा र टोलस्तरसम्म डिजिटल फोर्स गठनको देशव्यापी अभियान नै चलाइरहेको छ ।