Techie IT
Friday, December 12, 2025 | शुक्रबार, मंसीर २६, २०८२
२०८२ मंसीर २६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रपत्रकारलाई लाग्यो चुनाव, को–को छन् अध्यक्षको दौडमा ? (भिडिओसहित)

पत्रकारलाई लाग्यो चुनाव, को–को छन् अध्यक्षको दौडमा ? (भिडिओसहित)


काठमाडाैं । सम्पूर्ण पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व छनोटका लागि यहीं जेठ २६ गते निर्वाचन हुँदैछ । महासंघको परिवर्तित विधानअनुसार त्यसदिन जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व छनोटका लागि एकसाथ मतदान हुनेछ ।

यसअर्थमा अहिले देशैभरका पत्रकारलाई चुनावले छपक्कै छोपेको छ । जिल्ला र प्रदेशको नेतृत्वका लागि भएका रस्साकस्सीबारे क्रमशः चर्चा गर्दै जाउँला । तर आज चर्चा गरौं, केन्द्रीय नेतृत्वका लागि भएका चलखेल, सम्भावित समीकरण र अध्यक्षका आकांक्षीहरुबारे–

यसपालि पत्रकार महासंघ केन्द्रमा नेकपा एमालेनिकट प्रेस चौतारी र माओवादीनिकट प्रेस सेन्टरबीच चुनावी तालमेल हुने निश्चितजस्तै छ । दुई माउपार्टीबीच सत्तामा भएको समीकरणका कारण महासंघमा पनि यी दुई संगठनबीच तालमेल हुने पक्कापक्की भएको हो । तर, दुईमध्ये कुन संगठनले अध्यक्षको टिकट पाउने भन्नेचाहिँ अन्योलग्रस्त छ । अहिलेसम्म दुवै संगठनले अध्यक्षको दाबी गरिरहेका छन् ।

विगतमा प्रेस चौतारीका उम्मेदवारद्वय शिव गाउँले र महेन्द्र विष्टलाई प्रेस सेन्टरले सघाएर चुनाव जिताएको थियो । तर पछि प्रेस सेन्टरबाट उम्मेदवार भएका गोविन्द आचार्यलाई चौतारीले नसघाएर तीर्थ कोइरालालाई उम्मेदवार उठायो । त्यसपछि चौतारीले गुन बिर्सिएको भन्दै सेन्टर नराम्ररी चिढियो । जसकारण अहिले पनि सेन्टर चाहन्छ कि, विगतमा आफूहरुले लगाएको गुन सम्झेर यसपालि चौतारीले आफूलाई अध्यक्ष देओस् ।

त्यस्तै चौतारीले पनि अध्यक्षमा आफ्नो दाबीलाई सशक्तरुपमै अघि बढाउने बताइरहेको छ । पछिल्लो दुईपटक पराजित भएका कारण पनि चौतारी यसपटक नेतृत्वमा पुग्न चाहन्छ । यसरी दुवै दलले दाबी गरे पनि अध्यक्षको उम्मेदवार कुन संगठनबाट हुने भन्ने कुराको टुंगो प्रचण्ड–ओलीले नै लगाउनेछन् ।

कुन संगठनले अध्यक्षको टिकट पाउनेभन्दा पनि को उम्मेदवार बन्ने भन्ने कुरा बढी पेचिलो बनिरहेको छ । अध्यक्ष पाउने सहमति भयो भने पनि सेन्टरको आन्तरिक किचलोले उम्मेदवार छान्न निकै सकस हुने देखिन्छ । महासंघका अहिलेका महासचिव रोसन पुरी अध्यक्षका लागि अतिआकांक्षी हुन् । तर, संगठनभित्र उनी अतिअलोकप्रिय छन् । पुरीले पार्टी अध्यक्ष प्रचण्डको आशिर्वाद आफूलाई प्राप्त भएको दाबी पनि गरिरहेका छन् ।

तर, प्रचण्डले भने अर्का आकांक्षी खिलबहादुर भण्डारीलाई चुनावी तयारी गर्न देश दौडाहामा पठाएको बताइन्छ । त्यस्तै पुरीले अध्यक्ष पदको गरिमा डिजर्ब गर्न नसक्ने आवाज उठिरहेका बेला माओवादीभित्र उम्मेदवारका रुपमा महेश्वर दाहालको नाम पनि चर्चामा छ ।

त्यस्तै चौतारीले अध्यक्षको टिकट पाउने भयो भने पनि उम्मेदवारमा समस्या नै छ । अहिले चौतारीभित्र चर्चा रहेकी एक उम्मेदवार हुन्– निर्मला शर्मा । अघिल्लोपालि सेन्टर र युनियनबीच गठबन्धन हुँदा चुनाव लडेर पराजित भएकी शर्माले यसपालि आफू स्वभाविक र शक्तिशाली भएको दाबी गरिरहेकी छिन् । यद्यपि, उनको पक्षमा चौतारीको सिंगो टिम खुलेको छैन । अघिल्लोपालि चुनाव लड्दा पनि चौतारीबाहेकका महिलालाई समेट्न नसकेको र एनजिओ शैलीमा अघि बढेको आरोप निर्मलाले खेपिरहेकी छिन् । यद्यपि, चौतारीको महिला समूहले भने निर्मलालाई अध्यक्ष बनाउन व्यापक लबिङ गरिरहेको छ ।

त्यस्तै यसअघि महासचिव भइसकेका र अघिल्लोपालि निर्मालालाई अध्यक्षको टिकट छाडेको बताउने उजिर मगर पनि चौतारीबाट अध्यक्षका शक्तिशाली दाबेदार हुन् । तर माओवादी पृष्ठभूमिका उजिरलाई प्रेस सेन्टरले नरुचाउने निश्चित छ । यद्यपि, दुवै संगठनभित्रका जनजाति पत्रकारको सेन्टिमेन्ट भने उजिरले पाइरहेका छन् ।

त्यस्तै अध्यक्षका अर्का स्वभाविक र शक्तिशाली दाबेदार हुन्, अघिल्लो अधिवेशनमा प्रतिगामीको बिल्ला भिरेर निर्मला समूहबाट वरिष्ठ उपाध्यक्ष उठेर पराजित भएका माधव नेपाल । त्यतिबेला पराजित हुने जान्दाजान्दै चुनाव लडेका नेपाललाई यसपालि अध्यक्ष बनाउनुपर्ने आवाज उठिरहेको छ ।

अघिल्लोपालि चौतारीबाट महासचिवमा चुनाव लडेका बालकृष्ण बस्नेत प्रेस काउन्सिलको अध्यक्ष भइसकेको र निर्मला पनि समानुपातिक सांसदको बन्दसूचीमा परिसकेकाले यसपालि माधव नेपालले अध्यक्षको टिकट पाउने कतिपयको विश्वास छ । नेपाल चौतारीको केन्द्रीय सदस्य, सचिव र महासचिवहुँदै वरिष्ठ उपाध्यक्ष भइसकेका छन् । संगठनलाई अप्ठेरो परेका बेला उम्मेदवार बनेका नेपाललाई अध्यक्ष बनाउनुपर्नेमा कतिपयको जोड छ ।

यद्यपि, उम्मेदवारका कारण लफडा भइरहे अध्यक्ष सेन्टरलाई सुम्पेर पदाधिकारीमा आफूनिकटका केही व्यक्ति सेट गर्न चौतारी केही अगुवा लागिपरेको बुझिएको छ ।

त्यस्तै नेपाली कांग्रेसनिकट प्रेस युनियनमा उम्मेदवारको लफडा उस्तैछ । चौतारी र सेन्टरबाहेक सबै एक भएर जान युनियनले व्यपक कसरत गरिरहेको छ । सदस्यको हिसाबले सबैभन्दा ठूलो युनियनले अरु सबैलाई समेट्न सक्यो भने चौतारी र सेन्टर मिल्दा पनि चुनावी प्रतिस्पर्धा कडै हुने देखिन्छ ।

युनियनभित्र अध्यक्षका लागि अहिलेका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर फिर्ता लिएका रामजी दाहाल, यसअघि अध्यक्षको उम्मेदवारी दिएर व्याक भएका रामप्रसाद दाहाललगायतको चर्चा छ । विष्टप्रति अहिलेको युनियन नेतृत्व सकारात्मक छैन । उनीहरुको खेमाले दीपक आचार्यको नाम लिइरहेका छन् भने महिला वर्गले अनिता बिन्दुको नाम लिइरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

Techie IT