काठमाडौं । कालीकोटमा क्षमताभन्दा तेब्बर बढी यात्रु बोकेको बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा ६ जनाको घटनास्थलमै र एकको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । १३ जना घाइते छन् ।
पलाता गाउँपालिका–३ राडुनेटामा बोलेरो दुर्घटना भएको हो । दुई वर्षअघि ट्र्याक खुलेको सडकमा उकालो चढ्न नसक्दा बोलेरो सडकबाट ५ सय मिटर तल खसेको थियो । उक्त बोलेरो खिनबाट पलाता जाँदै गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कर्णाली १ ज ५६ नम्बरको उक्त बोलेरो ५ यात्रु सिट पास भए पनि चालकसहित २० जना सवार थिए ।
प्रहरीका अनुसार दुर्घटनामा पलाता–६ की दशकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही, पलाता–३ का दमन रोकाया र सल्यान घर भएका ४५ वर्षीय चालक धनीराम रावतको मृत्यु भएको छ ।
घाइते यात्रुका अनुसार ओभरलोड बोलेरो साँघुरो सडकमा उकालो चढ्न नसकी ‘ब्याक’ भएर तल खसेको हो । बोलेरोभित्र १० जना र पछाडि १० जना यात्रु सवार रहेको घाइते भूपेन्द्र रोकायाले बताए ।