काठमाडौं । पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये ३० सिट जिते पनि पार्टीले मधेसलाई महत्त्व नदिएको उनीहरुको गुनासो छ ।
पार्टीको केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयनमा मधेसीहरूको स्थान सुनिश्चित नभएसम्म नेताहरूले कुनै बोल्ड निर्णय नलिने पनि बताएका छन् । यद्यपि, यहीं विवादले रास्वपा फुट्नसक्ने टिप्पणी हुन थालेको छ ।
डा. अमरेशकुमार सिंहले सुरु गरेको पार्टीको आलोचना मनिष झाहुँदै पुरुषोत्तम यादवसम्म आइपुग्दा रास्वपाभित्रको उकुसमुकुस छताछुल्ल भएको हो । सरकारले अहिले धमाधम नियुक्ति गरिरहेको छ तर मधेससँग कुनै सोधपुछ नगरेको उनीहरुको भनाइ छ ।
प्रधानमन्त्री बालेन र पार्टीका सभापति रवि लामिछानेको सल्लाहमा मात्र नियुक्ति हुने गरेको बताउँदै उनीहरुले विज्ञापन गरेर नियुक्ति गरेको भन्नु भ्रममा पार्ने कुरा मात्र भएको पनि बताएका छन् । यससँगै सरकारले १०० दिन पूरा गरेको छ, तर मधेसमा संगठन पनि बनेको छैन, नेताहरू पनि असन्तुष्ट छन् ।
यसको अर्थ पार्टीको प्राथमिकतामा मधेस छैन भन्ने छाप परेको छ ।