अझै धेरैलाई लागेको छ– सरकारले देश र जनताको पक्षमा ज्यादै राम्रो काम गरेको छ, गरिरहेको छ । तर कांग्रेस–एमालेका झोले र १२ भाइ मिडियाले त्यसलाई पचाउनै सकेका छैनन् । त्यसैले उनीहरु जतिबेलै सरकारको विरोध मात्रै गरिरहन्छन् । अर्थात् सत्ता बाहिर हुनुको छट्पटीले उनीहरु भा’को, नभा’को कुरा गरेर समाज भाँड्न उद्दत छन्, सरकार ढाल्न अनेक प्रपञ्च रचिरहेका छन् । उनीहरुलाई लागेको छ– देशमा सिस्टम बसाउँदा दुई–चारजना गणेश नेपालीहरु मरे पनि केही फरक पर्दैन । अझ उनीहरुलाई लाग्दो हो– सरकारको आलोचना गराउनकै लागि गशेणहरु जिउँमा पेट्रोल छर्केर आगो झोसेका हुन् । तर उनीहरु यो बुझ्नै चाहँदैनन् कि, कुनै पनि नियम मान्छेका लागि हो कि मान्छे नियमका लागि ? के राज्यको एउटा नियम कार्यान्वयका लागि मान्छेको बलि चढाउँनु पर्छ भने त्यो नियम किन चाहियो ? अर्थात्, मान्छेको जीवन वा दैनिकीलाई सहज र सुव्यवस्थित बनाउनका लागि चाहिने हो नि– कुनै पनि नियम, ऐन वा कानून ! होइन र ? यसको अर्थ कुनै नियमै चाहिँदैन, समाजलाई मनलाग्दी स्वेच्छाचारी ढंगमा छाड्नुपर्छ भन्ने होइन । कुनै पनि नियम त्यहाँको परिस्थिति, परिवेश र आवश्यकताका आधारमा बन्नुपर्छ र लागू हुनुपर्छ । तर, मान्छेको ज्यानभन्दा नियमको भारी ठूलो हुनुहुँदैन । अझ खतरनाक कुरा त यो हो कि, मान्छेको संवेदना पनि यतिधेरै जड हुन, कसरी सम्भव भयो ? दिनदहाडै एउटा युवाले राज्यप्रति असन्तोष व्यक्त गर्दै आफ्नै जिउमा पेट्रोल छर्केर आगो झोस्छ र मर्छ । र पनि मान्छे ऊप्रति सहानुभूति व्यक्त गर्नुको साटो सरकारको प्रतिरक्षामा बढी केन्द्रित छन् । सरकार पूरा लाचार र नाजावाफ छ । सरकारको नेतृत्व गरेको दल र दलका नेताहरु पनि सरकारकै प्रतिरक्षामा मग्न छन् । गृहमन्त्री संसदमा आएर जवाफ दिँदैनन्, उल्टै प्रश्न सोध्ने सांसदहरुलाई थर्काउँछन् । घटनाको दोष स्थानीय तहलाई लगाएर पन्छन खोज्छन् । अझ रोचक कुरा त के भने– विरामीको मृत्यु भइसकेपछि एयर एम्बुलेन्स खोज्न दौडधुप गरेको नाटक रच्छन् । संसदमा गला अवरुद्ध भएको अभिनय गर्छन् । फेरि पनि सत्तापक्षका सांसदहरु परर ताली बजाउँछन् । त्योभन्दा पनि रोचक तर भद्दा कुरा के हो भने– गणेश नेपालीको आत्मदाह स्वभाविक र सरकारले गरेको कारबाही जायय थियो भन्ने पार्न मिडिया हाउस र प्रतिपक्षी दलका नेताको घरमा लगेर जथाभावी गाडी पार्किङ गराइन्छ । धरहराको पार्किङ बन्द गराएर भाडाका व्यपारीहरुलाई फुटपाथमा व्यपार गर्न लगाइन्छ । यसरी सरकारले नै ‘जनतालाई देखाइने’ ढंगमा प्रतिशोध साँध्नुले के संकेत गर्छ ? र पनि सरकारको आरति उतार्नेहरुकै बहुमत छ । सुकुम्बासीको बिचल्ली भए पनि होस् तर खोला किनारमा राम्रो पार्क बन्नुपर्यो भन्नेहरुकै आवाज ठूलो छ । सरकारले काम गर्छ भने शिक्षा र स्वास्थ्यमा कर तिर्न पनि तयारै छौं भन्ने जनताकै संख्या धेरै छ । हामी जनता यस्ता भयौं कि, मान्छेलाई देउता बनाउँदा–बनाउँदा, ऊ कतिबेला ढुंगा भइसकेछ– पत्तै नहुने रहेछ । साँच्चै, आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’ नयाँनयाँ ट्रिकहरु खोजिरहन्छ । र, मान्छेको दिमाग भाँडिरहन्छ । आखिर कहिलेसम्म ???