काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
शुक्रबार गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ र अस्पतालकी प्रशासकीय प्रबन्धक अर्चना थापाबीच भएको सम्झौताअनुसार बलेफीका नागरिकले उपचारमा २५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
उक्त सम्झौताका लागि विशेष पहल गरेका सामाजिक अभियन्ता राममणि न्यौपानेका अनुसार असान्त मसान्तसम्म बिरामीहरुले ५० प्रतिशत नै छुट पाउनेछन् । त्यस्तै गाउँपालिकाका १० जनासम्म अतिविपन्न विरामीलाई निशुल्क उपचार गर्ने सहमति भएको उनको भनाइ छ ।
सम्झौता गर्नका लागि गाउँपालिका अध्यक्ष तामाङसँगै वडा नम्बर ६ का वडाध्यक्ष तेजबहादुर पराजुली, वडा नम्बर ७ का वडाध्यक्ष गृवेन्द्र चौलागाईं, बलेफी ४ का सामाजिक अभियन्ता खिकाप्रसाद नेपाललगायतको उपस्थिति थियो । यसअघि सिन्धुपाल्चोककै सुनकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकासँग पनि अस्पातालले यस्तै सम्झौता गरिसकेको छ ।