Techie IT
Thursday, June 11, 2026 | बुधबार, जेठ २७, २०८३
२०८३ जेठ २७, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजग्गादान प्रकरणले राजनीतिमा हलचल, कांग्रेसले पनि दान पाएकै जग्गामा पार्टी कार्यालय बनाएको खुलासा

जग्गादान प्रकरणले राजनीतिमा हलचल, कांग्रेसले पनि दान पाएकै जग्गामा पार्टी कार्यालय बनाएको खुलासा


काठमाडौं । अहिले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले सत्तारुढ दल नेकपा एमालेको पार्टी कार्यालय बनाउन जग्गा दान दिएको विषयले राजनीति गर्माएको छ । विवादित व्यवसायी गुरुङले पार्टी कार्यालय भवनसमेत बनाइदिने भएपछि एमाले पार्टीभित्र र बाहिर नेतृत्वको चर्को आलोचना भइरहेको छ ।

पार्टीका उच्च तहका नेताहरू मौन रहे पनि कतिपय स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यहरूले विरोध जनाएका छन् । पार्टीका तल्लो तहका कार्यकर्ताले पनि यसलाई निको मानेका छैनन् । नक्कली भ्याट बिल प्रकरणमा राजस्व छली गरेको आरोपमा सर्वोच्च अदालतबाट सजाय तोकिएका व्यक्ति गुरुङले दिएको दान लिनु पार्टीका लागि घातक रहेको भन्दै नेतृत्वको आलोचना भइरहेको हो ।

एमालेले भने जग्गा दान र राजस्व ठगी अलग विषय भएको जनाएको छ । नक्कली भ्याट बिल प्रकरणमा सर्वोच्च अदालतले २०८० माघमा गुरुङलाई दोषी ठहर गरेको थियो । पार्टी कार्यालय शिलान्यास गर्नुअघि बसेको सचिवालय बैठकमा जग्गा प्राप्त हुने तर कसले दिने भन्ने खुलाइएको थिएन ।

असोज ११ र १२ गतेको बाढीका कारण एमाले पार्टी कार्यालय डुबानमा परेपछि व्यवसायी गुरुङले पार्टीको फर्निचर बनाइदिने प्रस्ताव गरेका थिए । तर पार्टी अध्यक्ष ओलीले त्यो कार्यालय आफ्नो नभएको बताएपछि जग्गासहित पार्टी कार्यालय नै बनाइदिने प्रस्ताव गुरुङले गरेका थिए । ओलीले पनि गुरुङको उक्त प्रस्ताव स्वीकार गरेका हुन् । एमाले नेताहरूका अनुसार व्यवसायी गुरुङले आगामी वर्षको घटस्थापनाका दिन भवन तथा जग्गा हस्तान्तरण हुने गरी निर्माणको तयारी थालेका छन् ।

यसकारण सरिरहन्छ एमाले पार्टी कार्यालय

२०७२ सालको भूकम्पले बल्खुमा रहेको पार्टी मुख्यालय क्षतिग्रस्त भएपछि एमाले भाडाको घरमा बस्दै आएको छ । यसअघि एमालेको पार्टी कार्यालय धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा बसेको थियो । सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको जग्गा एमालेलाई भाडामा लगाइएको भन्दै विरोध भएपछि त्यहाँबाट थापाथली हाइट सरेको थियो ।

थापाथलीमा एमाले व्यापारी सञ्जय अग्रवालको घरमा भाडामा बसेको थियो । अहिले पनि त्यहाँ एमालेको उद्योग विभाग छ । केन्द्रीय कार्यालय त्यहाँबाट पनि सारेर २०७९ वैशाख ९ गते ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा राखिएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानको भवन एमालेले पाँच वर्षका लागि भाडामा लिएको हो । यद्यपि यो पनि सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको जग्गा हो । प्रतिष्ठानले एमालेलाई भोगचलन दिएको भन्दै त्यहाँ पनि आलोचना भएको थियो । भूकम्पले भत्काएको बल्खुको भवन एमालेले २०५१ सालमा बनाएको हो ।

गुरुङ चोख्याउँदै ओली

विवाद बढेपछि एमालेले गुरुङलाई चोख्याउने प्रयास गरिरहेको छ । एमालेले गुरुङ पार्टीको पुरानो कार्यकर्ता, समर्थक र शुभचिन्तक भएको दाबीसमेत गरेको छ । विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीका सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैकिङ सेक्टरको केन्द्रीय कार्यसमिति सदस्य भई काम गरेका गुरुङले अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा भूमिका निर्वाह गरेको एमालेको भनाइ छ ।

एमालेले भनेको छ– ‘नेपाली माटोमा हुर्किएका एक सफल व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व हाम्रो पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरुङ र उहाँकी धर्मपत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका वडा नं. २ मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क दान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गर्नुभएको छ । यसलाई २०८१ असोज २४ गते बसेको सचिवालयको ३८ औं बैठकले संस्थागत रूपमा स्वीकार गरी उहाँलाई सहयोगका निम्ति धन्यवाद दिएको छ ।’

को हुन् मीनबहादुर ?

अहिले नेपालको व्यावसायिक क्षेत्रमा गुरुङ स्थापित व्यक्ति हुन् । उनको व्यावसायिक यात्रालाई उदाहरणीय पनि मान्नेहरु धेरै छन् । उनले आफ्नै बलबुतामा स्थापना गरेको भाटभटेनी देशकै प्रमुख किनमेल केन्द्र बनेको छ । सन् १९५८ मा खोटाङमा जन्मिएका गुरुङका बुवा कृषक थिए । जन्मस्थलबाट काठमाण्डू आएर गुरुङले सुरुमा दैनिक ज्यालामा काम गर्ने कामदारहरूको हाजिरको विवरण राख्ने गरेको बताइन्छ ।

विगतमा उनले नेपाल ब्याङ्क लिमिटेडमा काम गरेका थिए । काम गर्दै उनले अर्थशास्त्रमा स्नातकोतर तहको अध्ययन पनि सम्पन्न गरेका थिए । गुरुङमाथि तात्कालिक माओवादी नेताहरूको लगानी परिचालन गरेको आरोप पनि लाग्ने गरेको छ । र, पछिल्लो समय उनी विवादित ललितानिवास प्रकरणमा मुछिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय पनि दान गरेकै जग्गामा

अहिले एमालेको पार्टी कार्यालय बनाउन व्यवसायी गुरुङले जग्गा दान दिएको विषय निकै विवादित बनिरहेको छ । यसैबीच सत्तारुढ अर्को दल नेपाली कांग्रेसको पार्टी कार्यालय पनि दाताले दान दिएकै जग्गामा बनाएको खुलेको छ । अहिले सानेपामा भएको कांग्रेसको पार्टी कार्यालय बनेको जग्गा मैयाँदेवी श्रेष्ठले निशुल्क दिएकी हुन् । यद्यपि, उनी विवादित पात्र होइनन् । र उनी अहिले संसारमा छैनन् । तर, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने उक्त जग्गा कांग्रेसले नै किनेको दाबी गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT