काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा वाणिज्य बैंकहरूको औषत ब्याजदर घटेको छ ।
बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.०४ प्रतिशत विन्दुमा झरेको छ । कात्तिक महिनामा ५.२० प्रतिशत विन्दुमा थियो ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १० बैंकले ब्याजदर घटाएका छन् । बाँकी १० बैंकले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ब्याजदर घटाउने बैंकहरूमा नबिल, सानिमा, कुमारी, एनआईसी, सिद्धार्थ, प्राइम, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, सिटिजन्स र नेपाल एसबिआई बैंक रहेका छन् । अन्य बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।