पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन गरेका पत्रकार सुमन ढुंगानालाई धम्की दिइएको छ ।
रिसोर्ट सञ्चालकले सरकारी जग्गा कब्जा गरेर व्यवसाय चलाएको र यसको विरुद्धमा प्रमाणसहित भिडियो र समाचार प्रकाशन गरेपछि ढुंगानालाई विभिन्न बहानामा धम्की दिने क्रम बढेको हो । यसैक्रममा, जग्गा कब्जा गरेका मुख्य व्यक्तिले नै उल्टो पत्रकार ढुंगाना र जग्गा संरक्षण अभियानकर्मीविरुद्ध कास्की जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
घटना सार्वजनिक भएपछि पत्रकार ढुंगानाले राष्ट्रिय भू-माफियाहरूसँग कुनै पनि प्रकारको छलफल वा बहस नगर्ने स्पष्ट पारेका छन् । समाचारमा सम्पूर्ण तथ्य आइसकेकोले अब यस्ता माफियाहरूसँग कुनै बहस नहुने र उनीहरूलाई राज्यले कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको माग छ ।
सरकारले शक्तिको दुरुपयोग गरेर दबाब दिन खोजे पनि आफू कुनै पनि हालतमा नझुक्ने अडान ढुङ्गानाले लिएका छन् । उनले यसै विषयलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘बरु सत्यसँग लड्दिन, शक्तिसँग झुक्दिन’ ।
त्यस्तै पत्रकार ढुंगानाले भू-माफियाहरूलाई खुला चुनौती समेत दिएका छन् । सार्वजनिक सम्पत्ति हडप्नेहरूले नै उल्टो पत्रकार र अभियन्तामाथि उजुरी हाल्नुले प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर प्रहार भएको भन्दै स्थानीय स्तरमा यसको तीव्र आलोचना भएको छ । यस विषयमा नागरिक समाज र अधिकारकर्मीहरूले पत्रकार ढुंगानाको पक्षमा ऐक्यबद्धता जनाउँदै सरकारी जग्गा तत्काल फिर्ता लिन र दोषीलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरेका छन् ।