Techie IT
Friday, June 19, 2026 | शुक्रबार, असार ५, २०८३
२०८३ असार ५, शुक्रबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङरास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

कसलाई कसरी गरिँदैछ व्यवस्थापन ?


काठमाडौं । यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित जस्तै भए पनि पदाधिकारीमा भने दर्जनौं अकांक्षी देखिएका छन् । रास्वपाको प्रस्तावित विधानमा तीन जना उपसभापति रहने व्यवस्था छ ।

तीन जना उपसभापतिमध्ये एक जना महिला अनिवार्य रहने प्रबन्ध गरिएको छ । एक महिला पदमा अहिले झन्डै सात जनाको नाम चर्चामा छ । ब्ुझिए अनुसार महिला उपसभापतिका लागि मौजुदा कमिटीकी कोषाध्यक्ष लिमा अधिकारी, सह–कोषाध्यक्ष वसुमाया तामाङ, सह–प्रवक्ता प्रतिभा रावल, सचिवालय सदस्यद्वय सोबिता गौतम, सरिताश्री ज्ञवाली, केन्द्रीय सदस्यद्वय इन्दिरा राना र समीक्षा बास्कोटाको नाम चर्चामा छ । यीमध्ये तामाङ सांसद छिन् भने रावल र गौतम मौजुदा सरकारमा मन्त्री छन्।

दुई खुला उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्लेको नाम पक्कापक्की छ। डोलप्रसाद अर्याल सभामुख भएकाले रिक्त रहेको पदमा सुनील लम्साल, विराजभक्त श्रेष्ठ, गणेश कार्की लगायतले दाबी गर्न सक्ने सम्भावना छ। अहिले लम्साल र कार्की बालेन समूहका भनेर चिनिएका छन्। लम्साल पूर्वाधार विकास मन्त्री छन् भने कार्की संसदीय समितिका सभापति छन्। त्यस्तै, पार्टी संस्थापकमध्येका श्रेष्ठ ऊर्जामन्त्री छन्।

दुई सदस्यीय महामन्त्रीमा पनि आकांक्षा राख्नेको सूची लामै छ । संस्थापकबाट कविन्द्र बुर्लाकोटी र बालेन समूहबाट भूपदेव शाह अहिले महामन्त्रीको भूमिकामा छन्। उनीहरू दुवैको महामन्त्रीमा दोहोरिने चाहना रहेको बुझिएको छ । त्यसबाहेक विपिन आचार्य, दीपक बोहरा, मनिष झा, प्रमोद न्यौपानेले पनि आकांक्षा राखेका छन्। उपसभापति बन्ने सम्भावना क्षीण भए सोबिता गौतमले पनि महामन्त्री दाबी गर्ने सम्भावना रहेको बताइएको छ ।

चार सदस्यीय सह–महामन्त्रीमा पनि आकांक्षा राख्नेको सूची लामै छ। मौजुदा समितिमा विपिन आचार्य मात्रै सह–महामन्त्रीको भूमिकामा छन्। चुनाव नहुने परिस्थिति आयो भने महामन्त्री दाबी गर्नेहरू सह–महामन्त्रीमा समेटिन सक्ने सम्भावना रहन्छ। चार सदस्यीय सह–महामन्त्रीमा एक जना महिला अनिवार्य रहने प्रबन्ध छ।

त्यसमा क्रान्तिशिखा धिताल, टीका संग्रौला (ज्वाला), कुसुम महर्जन लगायतको नाम चर्चामा छ । खुलातर्फ शिशिर खनाल, रमेश प्रसाईं, असिम शाह, रोहन कार्की, प्रकाशचन्द्र परियार, खगेन्द्र सुनार, सागर ढकाल लगायतको नाम चर्चामा रहेको नेताहरूले बताएका छन्। पार्टीमा केन्द्रीय सदस्यको जिम्मेवारी र हाल संसदीय भूमिकामा समेत रहेका डा. तोसिमा कार्की, निशा डाँगी पनि पदाधिकारीको आकांक्षीका रूपमा छन्।

उनीहरूले कुन पद दाबी गर्छन् भन्ने चाहिँ यकिन भइनसकेको नेताहरूले बताएका छन्। रास्वपाको प्रस्तावित विधान अनुसार पहिलो चरणमा सभापतिसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यबाट बाँकी पदाधिकारी छानिने छन्। दुवै चरणमा महाधिवेशन प्रतिनिधिहरूले नै मतदान गर्नेछन्।

यसबाहेक एक प्रवक्ता, तीन सह–प्रवक्ता, एक कोषाध्यक्ष र एक सह–कोषाध्यक्ष सभापतिले मनोनीत गर्नेछन्। रास्वपाको पहिलो महाधिवेशन यही असार ७, ८, ९ गते चितवनको भरतपुरमा गर्ने तयारी छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र…

नेपालको भन्सार प्रणालीबाट सङ्कलित राजस्व राष्ट्रिय बजेटको प्रमुख स्रोत हो। तर संघीय संरचनामा भन्सार राजस्व प्रत्यक्ष रूपमा स्थानीय समुदायको विकाससँग

Techie IT