काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित नयाँ औद्योगिक अभियान अघि बढाएका छन्।
सानै उमेरमा अभिभावक गुमाएपछि आर्थिक तथा शैक्षिक कठिनाइसँग जुध्दै काठमाडौं पुगेका ठाकुरले पुर्खौली पेशा सिकर्मी तथा इन्टेरियर डेकोरेशन क्षेत्रबाट आफ्नो यात्रा सुरु गरेका थिए। कठोर संघर्ष र निरन्तर मेहनतका कारण उनी कम उमेरमै सफल इन्टेरियर डेकोरेशन कम्पनीका सञ्चालक बन्न सफल भएका थिए।
ठाकुरले नेपालका विभिन्न शहरदेखि दुर्गम क्षेत्रसम्म होटल, कार्यालय, हाउजिङ, रिसोर्ट तथा ठूला निर्माण परियोजनाको इन्टेरियर डेकोरेशन कार्य गर्दै सयौं व्यक्तिलाई रोजगारी सिर्जना गरेको दाबी गरेका छन्। उनले गजुरमुखी कन्स्ट्रक्सन, विभिन्न स्टार होटल, रिसोर्ट तथा अन्य ठूला परियोजनामा समेत काम गरिसकेका छन्।
कोरोना महामारीका क्रममा खोटाङस्थित एक रिसोर्ट परियोजनामा काम गर्दा ठूलो आर्थिक संकट सामना गर्नुपरेको ठाकुरको भनाइ छ। उनले श्रमिकको पारिश्रमिक र आफ्नो लगानीसमेत डुबेको दाबी गर्दै न्यायका लागि विभिन्न निकाय धाए पनि अपेक्षित सहयोग नपाएको बताएका छन्।
यसबीच जापानमा व्यवसाय विस्तारको योजना बनाएर गएका ठाकुरले त्यहाँको आधुनिक प्रविधि र अनुभव अध्ययन गरे। तर नेपालमा उत्पन्न सामाजिक–राजनीतिक परिस्थितिले आफूलाई स्वदेशमै केही गर्न प्रेरित गरेको उनले बताएका छन्।
हाल उनी सर्लाहीमा आधुनिक फर्निचर तथा ढोका उत्पादन उद्योग स्थापना गर्ने तयारीमा छन्। नेपाली काठ तथा जापानी प्रविधिको प्रयोग गरी गुणस्तरीय र सस्तो उत्पादन बजारमा ल्याउने तथा २०० भन्दा बढी युवालाई रोजगारी दिने लक्ष्य रहेको उनले जानकारी दिएका छन्।
उद्योग सञ्चालनका लागि सहुलियतपूर्ण ऋण आवश्यक रहेको भन्दै ठाकुरले सम्बन्धित निकायसँग सहयोगको अपिल गरेका छन्। स्वदेशमै उत्पादन, लगानी र रोजगारी विस्तार गरेर देश निर्माणमा योगदान पुर्याउने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।