Techie IT
Monday, July 27, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रत्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन


मलेखु । हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल ।

कठ्याङ्ग्रिँदो जाडोमा पनि खलखल पसिना बगिरहेको छ, तर उनलाई यसको कुनै प्रवाह छैन । भुजेल भन्छिन्, ‘हाम्रो काम उज्यालो भएदेखि अँध्यारो नभएसम्म बगरमा बालुवा खोज्ने हो । एक दिन अल्छी गर्‍यो भने अर्को दिन चुल्हो बाल्न गाह्रो हुन्छ । बिरामी परियो भने औषधि खाने पैसा हुँदैन । त्यसैले चिसो, गर्मी केहीको प्रवाह हुँदैन ।’

झापा स्थायी घर भएकी भुजेल श्रमकै लागि त्रिशूली किनारमा बस्दै आएकी छन् । उनी एकाबिहानै धादिङ र नुवाकोटको सीमामा पर्ने केउरेनी बगरमा पुग्छिन् । बगर खोतलेर बालुवा थुपार्छिन् । दिनभर यसरी नै बगरमा पसिना बगाएपछि साँझ मात्रै बासस्थान फर्किन्छिन् ।

‘कहिले बगरमा छरिएको बालुवा थुपार्न त कहिले नदीमा डुबेर बालुवा निकाल्दानिकाल्दै दिन बित्छ । यसरी जम्मा गरेको बालुवा चाल्ने, गाडीमा हाल्ने र त्यसबाट आर्जेको आम्दानीले बिहान बेलुकाको छाक टार्नुपर्ने बाध्यता छ । यो नै परिवारको जीवन धान्ने आधार हो’, उनले सुनाइन् ।

कल्पनासँगै उनका श्रीमान् विनोद भुजेलले पनि काम गर्छन् । उनकी एउटा छोरी छन्, उनलाई एउटा बालआश्रमले लगेर पढाइरहेको छ । बालुवा चालेर आएको पैसाले श्रीमान्, श्रीमतीको गर्जो टार्छन् ।

कल्पना र विनोद मात्रै होइन, नुवाकोट, धादिङ, चितवन, नवलपरासीलगायत जिल्लामा नदी किनारमै बसेर जीवन गुजार्ने सयौँ परिवार छन् । असिनपसिन पार्ने गर्मी होस् वा कठ्याङ्ग्रिँदो जाडो, उनीहरूको दैनिकी नदी किनारमै बित्छ ।

त्यसबाट हुने आम्दानी भने न्यून छ । दिनभरि खट्दा कहिले ५०० त कहिले ८०० आम्दानी हुने गरेको धेरैले बताउने गरेका छन्, त्यो पनि सधैँ हुँदैन । स्थानीय तह र प्रहरी प्रशासनले कडाइ गरेका बेला कमाइ शून्य हुने गरेको भुजेलले बताइन् ।

मजदुरका अनुसार हिउँदको बेला (हिजोआज) एक ‘टिप’ बालुवा जम्मा गर्न दुई जनालाई तीन दिनसम्म लाग्छ भने गाडीमा ‘लोड’ गर्न आधा दिन लाग्छ । त्यसबापत ठेकेदारले रु चार हजारदेखि बढीमा चार हजार ५०० रुपैयाँ दिन्छन् ।

सात वर्षदेखि यस्तै काम गरेर गुजारा चलाउँदै आएका नुवाकोट चाउथेका रामबहादुर सुनारले भने, ‘बूढाबूढीले बिहानदेखि बेलुकासम्म काम गरेर दिनको एक हजार रुपैयाँ कमाउन पनि मुस्किल पर्छ । प्रहरीले कडाइ गरेका बेला त त्यति पनि हुँदैन । लुकामारी गर्दै दिन बित्छ ।’

धादिङको सिद्धलेक गाउँपालिका–७ का बाबुराम आचार्यले पनि २५ वर्षदेखि बालुवामा पसिना चुहाएर परिवारका सामान्य आवश्यकता पूरा गर्दै आएका छन् । बालुवा चालेरै चार छोराछोरीको शिक्षादिक्षा, परिवारको गुजारा चलाउनु आफ्नो बाध्यता भएको उनले सुनाए ।

‘काम गरेको दिन चुलो बल्छ, नगरेको दिन भोकै परिन्छ । त्यसैबाट आएको केही रकमबाट गाँस काटेर छोराछोरीको शिक्षादीक्षाको व्यवस्था गर्छौँ’, आचार्यले भने ।

विशेषगरी नुवाकोटको बेलकोटगढी, धादिङको गल्छी र गजुरीमा पर्ने नदी किनार र बगरमा २०५० सालदेखि मजदुरले बालुवा निकाल्दै आएका छन् । धादिङतर्फ पर्ने त्रिशूली नदीको बेल्खु, घाटबेंसी, बाङ्गे, जरेखेत, महेशखोला, पोखरेखोला, मलेखुलगायत बगरमा मजदुरको सङ्ख्या बढी देखिन्छ ।

पानीमा डुबेर थुन्सेमा निकालेको र बगरमा छरपस्ट बालुवालाई अञ्जुलीले सोहोरेर जम्मा गरेको बालुवामा स्थानीय सरकारले कर छुट गरिदिए आफूहरूलाई ठूलो राहत हुने मजदुरको भनाइ छ ।

मजदुर भवानी अर्याल भन्छिन्, ‘सरकारले थुन्सेमा बोकेर गाडीमा लोड गरेको बालुवाको कर नलिइदिए गाडीवालाले हामीलाई अलिकति भए पनि पैसा बढी दिन्थेँ । कर पनि तिर्नुपर्छ भनेर बालुवा उठाउने ठेकेदारले हामीजस्ता मजदुरलाई पैसा कम दिन्छन् । घर छेउछाउतिरका बगरमा बालुवा निकाल्दा त झन् घरवालालाई पनि बाटोकर तिर्नुपर्छ । कि बाटोकर तिर, नत्र बालुवा ननिकाल भनेर समस्यामा पार्छन् ।’

जिल्ला प्रशासन कार्यालयले भने मजदुरको सुरक्षा, वातावरणीय जोखिमलाई मध्यनजर गरी त्रिशूली नदी र आसपासका अन्य खोलाबाट बालुवालगायत नदीजन्य सामग्री उत्खननमा रोक लगाएको छ । स्थानीय पालिकाले भने हरेक वर्ष बालुवा निकाल्न ठेक्का लगाउँदै आएका छन् । मजदुरका हितमा कुनै निकायले काम नगरेको मजदुरहरूको गुनासो छ ।

गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बालुवा निकाल्ने मजदुर सधैँ एकैठाउँमा नबस्ने र फेरबदल भइरहने भएकाले उनीहरूका विषयमा निर्णय गर्न समस्या हुने बताए ।

‘ठेक्का लागेका ठाउँमा होस् वा मजदुरले थुन्सेमा निकालेको बालुवा होस्, टिपको हिसाबले कर त उठाउँछौँ । मजदुर हितका लागि चाहेर पनि केही गर्ने मेसो मिलेको छैन । मजदुरबाट औपचारिक रूपमा केही माग भएर आएमा छलफल गर्न सकिन्छ’, उनले भने ।

त्रिशूली नदीले छुने गजुरी, थाक्रे, गल्छी, बेनिघाट गाउँपालिकाले बर्सेनि पाँचदेखि १० करोड रुपैयाँसम्मको ठेक्का लगाउने गरेको छ । रासस






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT