काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान हुँदैछ । अन्यत्र जस्तै सिन्धुपाल्चोकमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी परेको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर एकमा ५ र दुईमा ४ खुला सदस्यका लागि २२–२२ जनाको उम्मेदवारी छ । त्यस्तै क्षेत्र नम्बर १ मा तीन महिला सदस्यका लागि ७ र दुईमा २ महिलाका लागि ९ जनाको उम्मेदवारी परेको छ । ४० वर्षमुनिको एक–एकजना प्रतिनिधिका लागि ३ र ७ जनाको उम्मेदवारी परेको सिन्धुपाल्चोक एमालेले जनाएको छ ।
एमालेका अनुसार एक दलित सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको छ । शुक्रबार साँझसम्म सहमतिको प्रयास गर्ने र सहमति नभए चुनाव गर्ने तयारी भएको बताइएको छ । क्षेत्र नम्बर एकको लागि खाडिचौर र दुईको लागि मेलम्चीमा मतदान हुनेछ । केन्द्रमा अहिलेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने निश्चित भएपछि प्रतिनिधि छनोटको विषयलाई पनि निकै महत्वका साथ हेरिएको छ ।
सिन्धुपाल्चोकबाट केन्द्रमा प्रतिनिधित्व गर्ने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, केन्द्रीय सदस्यत्रय सरेश नेपाल, सुवास कर्माचार्य र दावा तामाङसँगै पार्टी जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ ओली पक्षका हुन् भने केन्द्रीय सल्लाहकार परिषद अध्यक्ष अमृतकुमार बोहोरा र पोलिट्ब्यु्रो सदस्य अरुण नेपालसँगै पार्टी जिल्लाका अधिकांश पदाधिकारी पोखरेललाई चुनाव जिताउने लाइनमा छन् ।