Techie IT
Monday, November 24, 2025 | सोमबार, मंसीर ८, २०८२
२०८२ मंसीर ८, सोमबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङमहाधिवेशनको रन्कोमा एमाले, ओलीलाई टक्कर दिने तयारीमा ईश्वर पोखरेल

महाधिवेशनको रन्कोमा एमाले, ओलीलाई टक्कर दिने तयारीमा ईश्वर पोखरेल


काठमाडौं । जेन जी आन्दोलनको मर्मअनुसार एमालेले आमनिर्वाचनभन्दा अघि नै अर्थात मंसिरमै महाधिवेशन गर्न लागेको छ । यसअघि नै विधान महाधिवेशन गरिसकेको एमालेले नेतृत्व चयनका लागि मात्रै मंसिरमा ११ औं महाधिवेशन गर्न लागेको हो ।

त्यसैले एमालेको आसन्न महाधिवेशनले कस्तो नेतृत्व चयन गर्छ भन्ने आमचासोको विषय छ । विधान अधिवेशनले दुई कार्यकालभन्दा बढी पार्टी अध्यक्ष हुन पाउने र ७० वर्षे उमेर हद पनि नलाग्ने निर्णय गरिसकेकाले अध्यक्षमा फेरि केपी शर्मा ओली नै मैदानमा उत्रने निश्चित छ । यससँगै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि प्यानल नै बनाएर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

बुझिएअनुसार ओली पक्षबाट पार्टी महासचिव हुनका लागि तीन नेताहरुले आकांक्षा देखाएका छन् । अहिलेका महासचिव शंकर पोखरेलसँगै उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले ओली पक्षबाट महासचिव बन्ने रहर गरेका हुन् । त्यस्तै ईश्वर पोखरेलको टिमबाट सुरेन्द्र पाण्डे महासचिवको उम्मेदवार हुने निश्चित जस्तै भएको छ ।

अहिले पोखरेलको पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण बिष्ट, योगेश भट्टराई र रघुवीर महासेठ खुलिसकेका छन् । त्यस्तै बिन्दा पाण्डे पनि पोखरेल पक्षबाट उम्मेदवारी दिने तयारीमा छिन् । पोखरेल पक्षबाट उपाध्यक्ष पदको उम्मेदवार पाण्डे बन्ने सम्भावना छ ।

भट्टराईलाई भने उपमहासचिवकोको उम्मेदवार बनाउने तयारी भइरहेको छ । ज्ञवाली र शाक्यले भने उम्मेदवारी दिने रुचि देखाएका छैनन् । संस्थापनतर्फ ओली प्यानलबाट उपाध्यक्षमा विष्णु पौडेल पुनः दोहारिने सम्भावना छ । माओवादी पृष्ठभूमिका उपाध्यक्ष रामबहादुर थापा र सचिव लेखराज भट्टलाई पनि ओलीले व्यवस्थापन गर्नुपर्ने छ ।

एक महिला नेतृलाई उपमहासचिव बनाउनुपर्ने हुँदा पद्मा अर्यालको सम्भावना छ । अर्याल हाल सचिव छिन् । फागुन २०६५ मा भएको आठौं महाधिवेशनमा अध्यक्षका लागि ओली र झलनाथ खनालबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला खनालसित ओली पराजित भएका थिए । महासचिवमा ईश्वर पोखरेल चयन भएका थिए ।

असार २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनमा ओली र माधवकुमार नेपालबीच प्रतिस्पर्धा हुँदा ओली अध्यक्षमा चयन भएका थिए । महासचिवमा पोखरेल नै चयन भए । त्यस्तै मंसिर २०७८ मा भएको १०औं महाधिवेशनमा ओली र भीम रावलबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला दोस्रो कार्यकालका लागि ओली निर्वाचित भएका थिए । वरिष्ठ उपाध्यक्षमा पोखरेल र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT