काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । पार्टीको लुम्बिनी प्रदेशस्तरीय बिस्तारित बैठकमा भाग लिन जाने क्रममा भट्टराईले आज लामिछानेलाई जिल्ला कारागार भैरहवा पुगेर भेटेका हुन् ।
लामीछानेलाई भेटेपछी उनले भने, ‘उहाँमाथि अन्तिम फैसला भइसकेको छैन। न्यायिक हिरासतमा हुनुहुन्छ। कोही मान्छे भाग्छ थप अपराज गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो। तर जनताको प्रतिनिधि भएको व्यक्ति भागेर जाँदैन। त्यसैले बाहिर जमानतमा रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो बुझाइ हो।’ उनले मुद्दाको विषयमा अदालतले फैसला गर्ने भएपनि वैकल्पिक राजनीतिक सोच राख्ने भएकाले भेट्न आएको बताए ।
जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुने बताए। उनले रविलाई पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको पनी बताए। उनले भने, ‘उहाँलाई ल्याएर दिँदो पनि रहेनछ, त्यो त हामी पन्चायतकालमा बस्दा पनि साथीहरूले ल्याएर दिन्थे, पढ्ने गर्यौँ। मैले प्रहरीलाई सोधेँ उहाँहरूले आदेश छैन भन्नुभयो, कमसेकम सूचनाबाट वञ्चित गर्न हुँदैनथ्यो। राखेको ठाउँ पनि उचित लागेन, माथि सम्बन्धित ठाउँमा पनि भन्छु।’
भट्टराईले रवि लामिछानेमाथि सरकारले प्रतिशोध सांधेको दावीसहित उनको न्यायका लागि भन्दै रविको पक्षमा हस्ताक्षर समेत गरेका थिए । लामिछानेलाई कारागारमा पत्रपत्रिका उपलब्ध नगराइँदा सूचनाबाट बञ्चित गरिएको र कोठामा एक्लै राखेको देखेर अप्ठेरो महसुस भएको उनले बताए ।