काठमाडौं । कम्युनिस्ट पार्टीहरु एमाले, माओवादी, एकीकृत समाजवादी, नेकपालगायत सबैजसोमा समस्या देखिएको छ । अहिले एमालेभित्रको समस्याबारे कुरा गर्न थाल्दा निकै लामो हुन्छ ।
खासगरी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा प्रवेश गर्न दिने कि नदिने भन्ने किचलोले एमाले नराम्ररी थलिएको छ । माओवादी अध्यक्ष प्रचण्डको उक्साहटमा पुन राजनीतिमा सक्रिय हुन लागेको आरोप खेपिरहेकी विद्या भण्डारीले त्यसको कडा प्रतिवाद पनि गर्न सकेकी छैनन् ।
तर, एमालेमा ओली पक्षबाट पेलानमा परेकाहरुले विद्या भण्डारीलाई आफ्नो गतिलो छहारीका रुपमा लिएका छन् । तर, विद्या भण्डारी विचार र संगठन दुवै हिसाबले कमजोर पात्र हुन् । विद्या भण्डारीलाई प्रयोग गरेर प्रचण्डले फेरि एमालेभित्र खेल्न खाजेको हो भने चाहिँ त्यसमा प्रचण्ड सफल हुने सम्भावना प्रबल छ ।
एमालेभित्र सुँड घुसारेर खेल्न पल्केका प्रचण्डले आफ्नै भित्रको द्वन्द्व भने मिलाउन सकेका छैनन् । करिब ४० वर्षदेखि आफ्नो निजी कम्पनी जसरी पार्टी चलाइरहेका प्रचण्डलाई जनार्दन शर्माले टक्कर दिएको मन परेको छैन ।
जनार्दनलाई साइजमा ल्याउन पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा भित्र्याए पनि माओवादीभित्रको हिसाब किताब सजिलै नमिल्ने देखिन्छ । उत्तराधिकारी भन्दै जति थुमथुम्याए पनि विप्लवले अब आफ्नै सुर गर्ने संकेत देखाएका छन् ।
बुझिएअनुसार विप्लवको हिमचिम एमाले अध्यक्ष ओलीसँग बढिरहेको छ । र, प्रचण्डले चाहिँ एकीकृत समाजवादीसँगको साँठगाँठलाई बाक्लो बनाएका छन् ।
यसरी अहिले माओवादी, एमाले, एकीकृत समाजवादी र नेकपामा ठूलो समस्या देखिएको छ । पुरानो कम्युनिट पार्टी मसाललाई त समस्या र फुट समान्य जस्तै लाग्ने भइसकेको छ । जुट्नभन्दा फुट्नमा आनन्द लिने कम्युनिस्टहरुले फेरि आफ्नो व्यहोरा देखाउने सम्भावना बढेको छ ।