Techie IT
Thursday, August 21, 2025 | बिहीबार, भदौ ५, २०८२
२०८२ भदौ ५, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रपत्रकारलाई लाग्यो चुनाव, को–को छन् अध्यक्षको दौडमा ? (भिडिओसहित)

पत्रकारलाई लाग्यो चुनाव, को–को छन् अध्यक्षको दौडमा ? (भिडिओसहित)


काठमाडाैं । सम्पूर्ण पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व छनोटका लागि यहीं जेठ २६ गते निर्वाचन हुँदैछ । महासंघको परिवर्तित विधानअनुसार त्यसदिन जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व छनोटका लागि एकसाथ मतदान हुनेछ ।

यसअर्थमा अहिले देशैभरका पत्रकारलाई चुनावले छपक्कै छोपेको छ । जिल्ला र प्रदेशको नेतृत्वका लागि भएका रस्साकस्सीबारे क्रमशः चर्चा गर्दै जाउँला । तर आज चर्चा गरौं, केन्द्रीय नेतृत्वका लागि भएका चलखेल, सम्भावित समीकरण र अध्यक्षका आकांक्षीहरुबारे–

यसपालि पत्रकार महासंघ केन्द्रमा नेकपा एमालेनिकट प्रेस चौतारी र माओवादीनिकट प्रेस सेन्टरबीच चुनावी तालमेल हुने निश्चितजस्तै छ । दुई माउपार्टीबीच सत्तामा भएको समीकरणका कारण महासंघमा पनि यी दुई संगठनबीच तालमेल हुने पक्कापक्की भएको हो । तर, दुईमध्ये कुन संगठनले अध्यक्षको टिकट पाउने भन्नेचाहिँ अन्योलग्रस्त छ । अहिलेसम्म दुवै संगठनले अध्यक्षको दाबी गरिरहेका छन् ।

विगतमा प्रेस चौतारीका उम्मेदवारद्वय शिव गाउँले र महेन्द्र विष्टलाई प्रेस सेन्टरले सघाएर चुनाव जिताएको थियो । तर पछि प्रेस सेन्टरबाट उम्मेदवार भएका गोविन्द आचार्यलाई चौतारीले नसघाएर तीर्थ कोइरालालाई उम्मेदवार उठायो । त्यसपछि चौतारीले गुन बिर्सिएको भन्दै सेन्टर नराम्ररी चिढियो । जसकारण अहिले पनि सेन्टर चाहन्छ कि, विगतमा आफूहरुले लगाएको गुन सम्झेर यसपालि चौतारीले आफूलाई अध्यक्ष देओस् ।

त्यस्तै चौतारीले पनि अध्यक्षमा आफ्नो दाबीलाई सशक्तरुपमै अघि बढाउने बताइरहेको छ । पछिल्लो दुईपटक पराजित भएका कारण पनि चौतारी यसपटक नेतृत्वमा पुग्न चाहन्छ । यसरी दुवै दलले दाबी गरे पनि अध्यक्षको उम्मेदवार कुन संगठनबाट हुने भन्ने कुराको टुंगो प्रचण्ड–ओलीले नै लगाउनेछन् ।

कुन संगठनले अध्यक्षको टिकट पाउनेभन्दा पनि को उम्मेदवार बन्ने भन्ने कुरा बढी पेचिलो बनिरहेको छ । अध्यक्ष पाउने सहमति भयो भने पनि सेन्टरको आन्तरिक किचलोले उम्मेदवार छान्न निकै सकस हुने देखिन्छ । महासंघका अहिलेका महासचिव रोसन पुरी अध्यक्षका लागि अतिआकांक्षी हुन् । तर, संगठनभित्र उनी अतिअलोकप्रिय छन् । पुरीले पार्टी अध्यक्ष प्रचण्डको आशिर्वाद आफूलाई प्राप्त भएको दाबी पनि गरिरहेका छन् ।

तर, प्रचण्डले भने अर्का आकांक्षी खिलबहादुर भण्डारीलाई चुनावी तयारी गर्न देश दौडाहामा पठाएको बताइन्छ । त्यस्तै पुरीले अध्यक्ष पदको गरिमा डिजर्ब गर्न नसक्ने आवाज उठिरहेका बेला माओवादीभित्र उम्मेदवारका रुपमा महेश्वर दाहालको नाम पनि चर्चामा छ ।

त्यस्तै चौतारीले अध्यक्षको टिकट पाउने भयो भने पनि उम्मेदवारमा समस्या नै छ । अहिले चौतारीभित्र चर्चा रहेकी एक उम्मेदवार हुन्– निर्मला शर्मा । अघिल्लोपालि सेन्टर र युनियनबीच गठबन्धन हुँदा चुनाव लडेर पराजित भएकी शर्माले यसपालि आफू स्वभाविक र शक्तिशाली भएको दाबी गरिरहेकी छिन् । यद्यपि, उनको पक्षमा चौतारीको सिंगो टिम खुलेको छैन । अघिल्लोपालि चुनाव लड्दा पनि चौतारीबाहेकका महिलालाई समेट्न नसकेको र एनजिओ शैलीमा अघि बढेको आरोप निर्मलाले खेपिरहेकी छिन् । यद्यपि, चौतारीको महिला समूहले भने निर्मलालाई अध्यक्ष बनाउन व्यापक लबिङ गरिरहेको छ ।

त्यस्तै यसअघि महासचिव भइसकेका र अघिल्लोपालि निर्मालालाई अध्यक्षको टिकट छाडेको बताउने उजिर मगर पनि चौतारीबाट अध्यक्षका शक्तिशाली दाबेदार हुन् । तर माओवादी पृष्ठभूमिका उजिरलाई प्रेस सेन्टरले नरुचाउने निश्चित छ । यद्यपि, दुवै संगठनभित्रका जनजाति पत्रकारको सेन्टिमेन्ट भने उजिरले पाइरहेका छन् ।

त्यस्तै अध्यक्षका अर्का स्वभाविक र शक्तिशाली दाबेदार हुन्, अघिल्लो अधिवेशनमा प्रतिगामीको बिल्ला भिरेर निर्मला समूहबाट वरिष्ठ उपाध्यक्ष उठेर पराजित भएका माधव नेपाल । त्यतिबेला पराजित हुने जान्दाजान्दै चुनाव लडेका नेपाललाई यसपालि अध्यक्ष बनाउनुपर्ने आवाज उठिरहेको छ ।

अघिल्लोपालि चौतारीबाट महासचिवमा चुनाव लडेका बालकृष्ण बस्नेत प्रेस काउन्सिलको अध्यक्ष भइसकेको र निर्मला पनि समानुपातिक सांसदको बन्दसूचीमा परिसकेकाले यसपालि माधव नेपालले अध्यक्षको टिकट पाउने कतिपयको विश्वास छ । नेपाल चौतारीको केन्द्रीय सदस्य, सचिव र महासचिवहुँदै वरिष्ठ उपाध्यक्ष भइसकेका छन् । संगठनलाई अप्ठेरो परेका बेला उम्मेदवार बनेका नेपाललाई अध्यक्ष बनाउनुपर्नेमा कतिपयको जोड छ ।

यद्यपि, उम्मेदवारका कारण लफडा भइरहे अध्यक्ष सेन्टरलाई सुम्पेर पदाधिकारीमा आफूनिकटका केही व्यक्ति सेट गर्न चौतारी केही अगुवा लागिपरेको बुझिएको छ ।

त्यस्तै नेपाली कांग्रेसनिकट प्रेस युनियनमा उम्मेदवारको लफडा उस्तैछ । चौतारी र सेन्टरबाहेक सबै एक भएर जान युनियनले व्यपक कसरत गरिरहेको छ । सदस्यको हिसाबले सबैभन्दा ठूलो युनियनले अरु सबैलाई समेट्न सक्यो भने चौतारी र सेन्टर मिल्दा पनि चुनावी प्रतिस्पर्धा कडै हुने देखिन्छ ।

युनियनभित्र अध्यक्षका लागि अहिलेका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर फिर्ता लिएका रामजी दाहाल, यसअघि अध्यक्षको उम्मेदवारी दिएर व्याक भएका रामप्रसाद दाहाललगायतको चर्चा छ । विष्टप्रति अहिलेको युनियन नेतृत्व सकारात्मक छैन । उनीहरुको खेमाले दीपक आचार्यको नाम लिइरहेका छन् भने महिला वर्गले अनिता बिन्दुको नाम लिइरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

फेसबुकमा प्रधानमन्त्रीको आलोचना गरेकै आरोपमा मंगलसिंह पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा सामाजिक अभियन्ता एवं माओवादी कार्यकर्ता मंगलसिह प्रजा पक्राउ

ज्योति मगरको ज्योतिले हल्लियो धेरैको माथिंगल, शरीर अश्लील कि नजर…

काठमाडौं । धेरैले गायिका ज्योति मगरलाई अंग प्रदर्शन गर्ने कलाकारका रुपमा चिन्छन् । तर, पछिल्लो समय एउटा उनले एउटा पडकास्टमा

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा चरम आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाह्रविसे नगरपालिकाका

एमाले सिन्धुपाल्चोक क्षेत्र १ ‘ख’को बैठक सम्पन्न, प्रतिनिधि परिषद् बैठक…

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश ‘ख’ समन्वय कमिटीको बैठक सम्पन्न भएको छ । शनिबार

सरकार ढाल्ने सबै कार्ड फाल्दा पनि असफल भएपछि गले प्रचण्ड

काठमाडौं । सरकार ढाल्नका लागि प्रयोग गरिएका सबै कार्ड असफल भएपछि माओवादी अध्यक्ष प्रचण्ड नराम्ररी गलेका छन् । यसअघि सरकार

Techie IT