काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एउटै पार्टी खोल्ने विषयमा सहमति भएको भनिएको थियो । यतिसम्म कि, उनीहरुसँगै रास्वपा परित्याग गरेकी सुमन श्रेष्ठ र जेनजी आन्दोलनबाट नवपुस्ताको नेतृत्वको रूपमा उदाएका सुदन गुरुङ पनि उक्त पार्टीमा सहभागी हुने निश्चित भएको थियो ।
आइतबार कुलमान घिसिङको घरमा भेट भएर नेताहरुले सोमबार नयाँ दल दर्ता गर्ने सहमति गरेका थिए । तर साँझ हुँदा उक्त सहमति उल्टियो । खासगरी पार्टीको नाम र नेतृत्वमा कसलाई अगाडि सार्ने भन्नेमा नेताबीच मतभेद भएपछि सहमति भाँडिएको हो । कुलमानका पक्षकाले अरुलाई नेता मान्न नसकिने बताएपछि तनाव सुरु भएको थियो ।
आइतबार बिहानको बैठकमा कुलमानका केही समर्थकले पार्टीको नाम उज्यालो नेपाल अभियान नै राखेर जानुपर्ने अडान लिएका थिए । तर सुदन, सुमना र बालेनले भने जेनजी आन्दोलनलाई उक्त नामल प्रतिनिधित्व नगर्ने भन्दै पार्टीको नाम अर्कै राख्नुपर्ने बताएका थिए ।
उनीहरूले तत्कालको नेतृत्व नयाँ पुस्ता जेनजी सहित सहिद परिवार र अन्यबाट हुनुपर्नेसँगै देशभरका जेनजीको भावना अनुसार काम गर्नुपर्ने अडान राखेका थिए । बिहान ऊर्जामन्त्री घिसिङले यो अडान मानेको तर साँझ उनका केही समर्थक र बाहिरबाट हायर गरिएका मान्छेले सहमति तोडाएको आरोप लागेको छ ।
काठमाडौं महानगरका मेयर बालेन, पूर्व सांसद श्रेष्ठ र गुरुङले भने यो कुरा स्वीकारेका छैनन् । उनीहरुले नामभन्दा पनि अरु नै विषयमा कुरा नमिलेको बताइरहेका छन् । कुलमानले अन्य तीन नेताको भन्दा पनि आफ्ना आसेपासेको कुरा बढी सुनेपछि समस्या भएको बताइएको छ ।