काठमाडौं । बालेन शाह इतिहासकै सबैभन्दा असफल मेयरको सूचीमा दर्ज भएका छन् । काठमाडौं महानगरका मेयर शाह असफल हुनुका पछाडि थुप्रै कारण छन् । र, उनी असफल भएको मापन गर्ने मानकहरु पनि थुप्रै छन् । सुरुमा उनी असफल भएका चाहिँ हुन् कि होइनन् भन्नेबारे चर्चा गरौं । मंगलबार देशका अधिकांश स्थानीय तहले बजेट ल्याए । तर काठमाडौं महानगरपालिकाले बजेट ल्याउन सकेन ।
निर्धारित मितिमा बजेट ल्याउन नसकेकै कारण काठमाडौं महानगरलाई असफल भन्न मिल्दैन । किनकि, देशका अरु थुप्रै स्थानीय तहले पनि बजेट ल्याएका छैनन् । बजेट नल्याएका स्थानीय तहका आ–आफ्नै कथा–व्यथा छन् । तर यहाँ कुरो बजेटको मात्रै होइन, काठमाडौं महानगरको नगर कार्यपालिकाको बैठकनै नबसेको ८–९ महिना भइसक्यो । महिनैपिच्छे बस्नुपर्ने बैठक ८–९ महिनासम्म नबस्दा महानगरका थुप्रै–थुप्रै काम प्रभावित भएका छन् । कुनै नयाँ काम गर्नै सकेको छैन ।
बजेट खर्चको अवस्था निकै दयनीय छ । मेयर–उपमेयरबीच बोलचाल बन्द छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच पानी बाराबार छ । अरु वडाअध्यहरुलाई त मेयर शाह रहस्यमयी पात्र जस्ता लाग्छन् । जनताको प्रतिनिधि मेयर शाह जनताकै पहुँचभन्दा बाहिर छन् । महानगरविरुद्ध दिनुहुँजसो अनिमिताताको उजुरी परिरहन्छन् । यी सबै घटनाक्रमले पुष्टि गर्छ कि, काठमाडौं महानगरका मेयर बालेन साह पूर्णत असफल भइसके । तर, यहाँ कोही भन्छन्– बालेनलाई कांग्रेस–एमालेका जनप्रतिनिधिले काम गर्नै दिएनन् । अर्थात् उनलाई असफल बनाउन कांग्रेस एमालेका कार्यकर्ता घुँडा धसेर लागेका छन् । यद्यपि, बुझ्न पर्ने कुरा यो छ कि, सफल नेता त्यो हो, जसले आफ्नो टिमका अधिकांशको मन जित्छ ।
तर दुर्भाग्य बालेनले महानगरमा आफ्नोबाहेक कसैको मन जित्न सकेनन् । र पनि उनका समर्थक यस्ता छन् कि– ललितपुरको ग्वार्कोमा ओभरपास बनेको जश पनि बालेनलाई नै दिइरहेका छन् । यसैबीच उपमेयर सुनिता डंगोलले बजेटका लागि एक्सन लिएकी छिन् । जसअनुसार उनले बुधबार आफ्नै अध्यक्षतामा बैठक राखेर बजेटबारे छलफल गरेकी छिन् । सम्भवतः उपमेयर सुनिताको पहलमा केही समयपछि नै भए पनि काठमाडौं महानगरको बजेट आउनेछ । र, फेरि पनि जश चाहिँ मेयर बालेनले नै पाउनेछन् ।