काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली गीत ‘पिरिम लाउ है’ आज औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
गीत यादव घिमिरे अफिसियल युट्युब च्यानलमार्फत दर्शक तथा स्रोतामाझ ल्याइएको हो। प्रेम, आत्मीयता र नेपाली समाजको मौलिक भावनालाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा गायक यादव घिमिरेसँगै चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ।
गीतको शब्द तथा संगीत स्वयं यादव घिमिरेकै रहेको छ भने शब्द संयोजन नविन गौतमले गरेका छन्। संगीत संयोजन विशाल निरौलाको रहेको छ। भिडियोमा बहुप्रतिभासाली कलाकार ज्योत्स्ना घिमिरेलाई मुख्य भूमिकामा देख्न सकिन्छ।उहाँ लगायत उहाँकी बहिनि आर्या घिमिरे राजु राई र अमृत सुनारको अभिनय देख्न सकिन्छ। नृत्य निर्देशन रोहित बस्नेत र आशिष राईले गरेका छन्
गीतको भिडियोमा नेपाली मौलिक संस्कृति झल्किने दृश्यहरू समावेश गरिएको छ। विशेषगरी कलाकारहरूले परम्परागत सांस्कृतिक पहिरन धोती लगाएर प्रस्तुत गरेको नृत्यले दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ। आधुनिक गीत भए पनि भिडियोमा देखाइएको भेषभूषा, नृत्य र परिवेशले नेपाली समाजको मौलिकता, संस्कार र पहिचानलाई उजागर गरेको छ।
अलंकार स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनि मिश्रण तथा रेकर्डिङ रञ्जन राईले गरेका छन्। गीतको भिडियो पक्षलाई थुप्रै चलचित्र तथा म्युजिक भिडियो का निर्देशक एकान्त मगरले कथा, निर्देशन, सम्पादन तथा रंग संयोजनमार्फत आकर्षक रूपमा प्रस्तुत गरेका छन्।
छायांकन सञ्जोक श्रेष्ठले गरेका हुन्।
गीतको निर्माता कृष्ण प्रसाद घिमिरे र कमला देवी घिमिरे हुन भने उत्पादन व्यवस्थापक खेम सारू मगर तथा व्यवस्थापक नविन गौतमको रहेको छ। साथै प्रकाश व्यवस्थापन, श्रृङ्गार, प्रविधि संयोजन लगायतका पक्षमा अनुभवी टिमको सहभागिता रहेको छ। सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको यस गीतले कला, संगीत र संस्कृतिप्रति सम्मान व्यक्त गर्दै नयाँ पुस्तालाई पनि नेपाली मौलिकतासँग जोड्ने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ।
प्रेमभावना र सांस्कृतिक पहिचानलाई सँगसँगै बोकेको ‘पिरिम लाउ है’ गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। गीत हाल यादव घिमिरे अफिसियल युट्युब च्यानलमा हेर्न र सुन्न सकिनेछ।