Techie IT
Friday, August 22, 2025 | बिहीबार, भदौ ५, २०८२
२०८२ भदौ ५, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमुकुलको बर्बराहटले उतारेको रविको मुकुण्डो (भिडिओसहित)

मुकुलको बर्बराहटले उतारेको रविको मुकुण्डो (भिडिओसहित)


काठमाडौं । रास्वपा महामन्त्रीबाट निकालिएपछि मुकुल ढकाल नराम्ररी रन्थनिएका छन् । उनका अभिव्यक्तिहरु ‘बेसुरे पो हुन् कि’ जस्ता सुनिन्छन् । जब अनुशासन आयोगको सिफारिसका आधारमा ढकाललाई पार्टीले महामन्त्रीसँगै प्रवक्ताको जिम्मेवारीबाट हटायो, तब उनले प्रेसमिट गरेर ‘रवि लामिछानेको क्लब’बाट निकालिए पनि ‘घण्टी बजाउन नछाड्ने’ प्रतिक्रिया दिए ।

रविभक्तबाहेक अरुले उनको उक्त प्रतिक्रियाको प्रशंसा नै गरेका थिए । धेरैले भनेका थिए– मुकुल त नराम्ररी पेलानमा परेका रहेछन् र पो त्यस्तो प्रतिवेदन दिएका रहेछन् ।

रविसँगै रास्वपाविरोधीहरुको सेन्टिमेन्ट क्याच गरिरहेकै बेला उनले एउटा टेलिभिजन च्यानललाई अन्तरवार्ता दिए । जहाँ उनले पार्टी सभापति लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले भारतीय राजदूतसँग प्रधानमन्त्रीका लागि बार्गेनिङ गरेको खुलासा गरे । पार्टी सभापति लामिछानेले गृहमन्त्री भइसकेपछि प्रधानमन्त्रीका लागि राजदूतसँग याचना गरेको मात्रै होइन, प्रधानमन्त्री बनाइदिए नेपाललाई भुटानीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको मुकुलको आरोप छ ।

मुकुलले लगाएको उक्त आरोप चानचुनेखाले होइन । यतिसम्म कि, आरोप अतिगम्भीर भएकै कारण रविविरोधीहरुले पनि मुकुलको कुरा पत्याएनन् । धेरैको एउटै प्रश्न थियो– यदि यति गम्भीर कुरा थाहा थियो भने पहिला किन नभनेको ?

मुकुलको उक्त आरोपबारे अनेक क्रिया–प्रतिक्रिया भइरहेकै थिए । उनले फेरि सामाजिक सञ्जालमा अर्को स्टाटस लेखे– रास्वपा उपसभापति वाग्लेले कुट्ने धम्की दिए, त्यसैले प्रहरीसँग सुरक्षा मागेको छु ! भनेर । उक्त स्टाटसपछि मुकुलको तौल झन् घट्यो । मान्छेहरुले भन्न थाले– महामन्त्रीबाट मुक्त भएपछि मुकुलको मानसिक स्वास्थ्यमा नै समस्या आयो कि क्या हो !

हुनत रास्वपाबाट निक्लनका लागि उनी आफैंले निहु खोजेका हुन् । पार्टीको नीतिअनुसार नै देश दौडाहा गरेर महामन्त्री ढकालले ल्याएको रिपोर्टपछि नै रास्वपामा खैलाबैला मच्चिएको हो ।

जब प्रतिवेदनमा महामन्त्री ढकालले राजनीतिक, सैद्धान्तिक र संगठनात्मक क्षेत्रमा व्यापक सुधार नगरे पार्टीको भविष्य नै समाप्त हुनसक्ने चेतावनी दिए, तब पार्टीमा विवादले उग्र रुप लिएको थियो ।

महामन्त्री ढकालले प्रतिवेदनमा पार्टीको एजेन्डा, आन्तरिक प्रशासन, समन्वय विधि, संगठनात्मक ढाँचा र संरचना तथा आगामी कार्यदिशाबारे सुझाव पनि दिएका थिए । जसलाई पार्टी सभापति रावि लामिछानेले पचाउन सकेनन् । र विवाद बढ्यो ।

उत्कर्षमा पुगेको विवाद पार्टी केन्द्रीय समिति बैठकमा छताछुल्ल भयो । महामन्त्री ढकाललाई प्रतिवेदन पेश गर्न नै दिइएन । बैठकमा उनी विरोधस्वरुप मुखमा पट्टी बाँधेर बसे ।

खासमा इलाम २ को उपनिर्वाचनको निराशाजनक परिणामपछि रास्वपा सचिवालय बैठकले देशभरको जनमत बुझ्न महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाएको थियो । र, उनले पुराना दलभन्दा अरु स्वतन्त्रहरूसँग सहकार्यको हात बढाउनु रास्वपाको हितमा हुने पनि प्रतिवेदनमा उल्लेख गरेका थिए । रास्वपालाई ‘रविको पार्टी’ बनाउने कि राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने भन्ने ढकालको प्रश्नले सभापति लामिछानेलाई गहिरो ढंगमा प्रहार गरेको थियो ।

ढकालले प्रतिवेदनमा स्वतन्त्र पार्टीको मर्म हराएको, अन्य पार्टीभन्दा फरक हुन नसकेको, पुराना शक्तिसँगै सम्झौता गरेर अगाडि बढेको, सांसददेखि मन्त्रीसम्मको भूमिका कमजोर भएको भनेर निर्मम समीक्षा गरिएको थियो । प्रतिवेदनमा प्रदेश संरचना खारेजी, बलियो स्थानीय सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि प्रशासन सुधारसम्ममा पार्टीले संशोधन गर्नुपर्ने एजेन्डाहरूको बारेमा पनि औँल्याइएको थियो ।

हुन पनि हो, स्थापनाको ६ महिनामै अनपेक्षित सफलता हात पारेको रास्वपा दोस्रोपटक सरकारमा गएको तीन–चार महिनामै नराम्ररी स्खलित भएको छ । पहिलोपटक गृहमन्त्री हुँदा नागरिकता कसुरमा दोषी प्रमाणित भएपछि दोस्रोपटक चुनाव लडेर फेरि गृहमन्त्री भएका लामिछानेले चार महिनामा देखिने खालको केही पनि काम गर्न सकेनन् । श्रम, शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालय सम्हाले पनि रास्वपाले कुनै नवीन योजना ल्याउन सकेन ।
कतिपयले महामन्त्री ढकालले पार्टी फुटाउन खोजेको टिप्पणी पनि गरिरहेका छन् । ढकालमा बढेको घमण्डका कारण पार्टी नीतिविरुद्ध प्रतिवेदन आएको रास्वपाका कतिपय नेताहरुको ठम्याइ छ । तर, यति कठोर प्रतिवेदन ल्याउने ढकालविरुद्ध कति छन् त कार्यकर्ता ? धेरैको चासो छ ।

खासमा ढकाल चिकित्सक हुन् । सञ्चारकर्मी हुँदा रवि लामिछानेको पहलमा बनेको कालिकोटको रास्कोट अस्पतालमा काम गरिरहेका ढकाललाई रास्वपाको महामन्त्रीसँगै प्रवक्ताको जिम्मेवारी दिइएको थियो । तत्कालीन समयमा लामिछाने र ढकालको सम्बन्ध एकदमै सुमधुर मात्रै होइन, ढकाल लामिछानेको विश्वासपात्र नै थिए ।

पछिल्लो समय पार्टीमा सभापति लामिछानेको मात्रै राइँदाइँ भएपछि ढकाललाई खपिनसक्नु भएको थियो । पार्टीलाई रविको कम्पनी जस्तो बनाएकोप्रति उनको पहिलोदेखि नै असन्तुष्टि थियो । हुन पनि रास्वपामा रविविरुद्ध आवाज निकाल्नु चानचुने आँटको कुरा थिएन, जहाँ अहिले स्वर्णिम वाग्ले र विराजभक्तहरु पनि अघोषितरुपमा मुखमा पट्टी बाँधेरै अडिएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ओलीले अस्वीकार गरे विद्या भण्डारीको निम्तो, गएनन् मदन भण्डारीको हिरक…

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो अस्वीकार गरेका छन् । मदन भण्डारी हीरक

मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्

विपिन जोशीबारे केही तथ्य पत्ता नलगाइ इजरायबाट स्वदेश फर्किए आमा…

काठमाडौं । विपिन जोशीको परिवार इजरायलबाट स्वदेश फर्किएको छ । विपिन जोशीकी आमा र बहिनी १० दिनअघि इजरायल गएका थिए

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

निजी विद्यालयलाई नाफा कमाउन दिनुपर्नेमा सांसदको जोड

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने कुराले शिक्षाको स्तर खस्किने बताएकी छन् । उनले

फेरि बल्झियो लिपुलेक विवाद, नेपाल र भारतको आ–आफ्नै अडान, चीन…

काठमाडौं । नेपाल, भारत र चीनको सीमा क्षेत्रमा पर्ने नेपालको लिपुलेक, लिम्पियाधुरा सीमा विवाद फेरि बल्झिएको छ । उक्त क्षेत्रमा

Techie IT