काठमाडौं । पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग एकता गर्दा थपिएका २६ केन्द्रीय सदस्यका कारण असन्तुष्टि चुलिएको हो ।
केन्द्रीय सदस्य मात्रै होइनन्, पदाधिकारीमा पनि मनलाग्दी मान्छे थपिएपछि वर्षौदेखि पार्टीमा काम गरेकाहरु रुष्ट भएका हुन् । रातरात आएका बालेनलाई वरिष्ठ नेता, कुलमानलाई उपसभापति, त्यससँगै महामन्त्री र सहमहामन्त्री पनि नयाँ आएकाहरुलाई नै दिने भएपछि पार्टीभित्र विवाद बढेको हो ।
थपिएका कतिपय केन्द्रीय सदस्य त वडा सदस्य हुने हैसियतको समेत नभएको भन्दै चारैतिर विरोध भइरहेको छ । रास्वपाको मुखपत्रका रुपमा लिइने लालिगुँरास अनलाइन टिभीका सञ्चालक कमल सरगमले समेत थपिएका केन्द्रीय सदस्यप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले सार्वजनिकरुपमै पार्टीको उक्त कदमको चर्को आलोचना गरेका छन् । त्यस्तै रास्वपाका उग्र नेता हिमेश पन्तले समेत मनलाग्दी केन्द्रीय सदस्य थपिएकोमा आपत्ति जनाएका छन् । यसरी पार्टी एकताले रास्वपालाई फाइदाभन्दा बेफाइदा बढी हुने चिन्ता पनि थपिएको छ ।