काठमाडौं । जेन–जी आन्दोलनका क्रममा (टीओबी टिब्बतीय ओरिजनल ब्लड) अंकित पोशाकसहित प्रदर्शन गर्ने तेञ्जिङ दावालाई मंगलबार काठमाडौं जिल्ला अदालतले ५ लाख २० हजार रुपयाँ धरौटीमा रिहा गरेको छ । दावा जस्तै जेन–जी आन्दोलनमा विभिन्न प्रकारका उदण्डता प्रदर्शन गर्नेमध्ये हालसम्म ८५ जनाले धरौटी सुविधामा रिहा हुने मौका पाएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार अहिले पनि प्रहरी हिरासतमा ४५ र दैनिक हाजिर जमानीमा छुटेका ९२ जनामाथि अनुसन्धान भइरहेको छ । उक्त प्रदर्शनका क्रममा विभिन्न स्थानमा हातहतियार लुटपाट गर्ने र ज्यान मुद्दाबाहेकका आरोपी प्रायः धरौटी, हाजिर जमानीदेखि साधारण तारेखसम्ममा रिहा भएका छन् । हातहतियार सहित पक्राउ परेकामध्ये १८ जनालाई प्रहरीले हाजिर जमानीमा छोडेको छ।
काठमाडौंको महाराजगञ्ज र कोटेश्वरमा गरी तीन प्रहरीले ज्यान गुमाएका थिए । उनीहरुको हत्यासँग सम्बन्धित १५ जनाका विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएकोमा सबै पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
विभिन्न प्रहरी कार्यालयबाट हातहतियार लुट्ने, लुकाउने र सार्वजनिक रुपमा प्रदर्शन गर्नेमध्ये काठमाडौं प्रहरीले हालसम्म १६ जनालाई नियन्त्रणमा लिएको छ । ती सबै पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरीले जनाएको छ ।
उक्त आन्दोलनमा विभिन्न किसिमका कसुरका संलग्न व्यक्तिमध्ये जिल्ला अदालतको आदेशले हालसम्म ७४ जना पुर्पक्षका लागि कारागार पठाइएका छन् । त्यसमा आपराधिक उपद्रवका ३७, हातहतियारमा १६, चोरीका ३, कर्तव्य ज्यानमा १५, ज्यान मार्ने उद्योगमा १ छन् । हालसम्म ८५ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको छ ।