काठमाडौं । वैकल्पिक राजनीतिको सेन्टर बन्ने भनी तीन बर्षअघि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकपछि अर्को पहिरोको चपेटामा परेको छ । परम्परागत ठूला पार्टीको विकल्प दिने भन्दै रवि लामिछानेको नेतृत्वमा २०७९ असार ७ गते रास्वपा बनेको थियो ।
२०८२ कात्तिकसम्म आइपुग्दा नेताहरूले एकपछि अर्को गर्दै पार्टी छाड्न थालेका छन् । पहिलो महाधिवेशनसमेत नहुँदै संस्थापक नेताहरूले नै रविको साथ छाड्न थालेका हुन् । पछिल्लो समय सभापतिले जेलबाटै पार्टी चलाउन खोजेको भन्दै पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले भदौ २३ र २४ को जेनजी आन्दोलनलगत्तै रास्वपा छाडिन् ।
लगत्तै केन्द्रीय सदस्य डा।प्रभात अधिकारी र हरि भट्टले राजीनामा दिए । पार्टी छाड्ने लर्कोमा प्रतिनिधिसभाको प्रमुख सचेतक रहेका सन्तोष परियार पनि छन् । उनले कात्तिक २८ गते रास्वपा छाडे । पार्टी छाड्नेको लहरमा रास्वपाका संस्थापक केन्द्रीय सदस्य गीता रेग्मी र महेश्वर घिमिरे यसअघि नै मिसिएका हुन् ।
केही समयअघि निर्वाचन आयोग प्रमुखको जिम्मेवारीमा रहेका डा।अतिन्द्र दाहाल र पूर्वअनुशासन आयोग प्रमुख डा।भरतमणि देवकोटाले पनि पलायनको बाटो रोजिसकेका छन् । रास्वपाको घरबेटीसमेत रहेका देवकोटाले लामिछानेसँगको घरबहाल विवादका साथै जेनजी आन्दोलपछि घर असुरक्षित रहेको बताउँदै आएका थिए ।
पूर्वमहामन्त्री डा।मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउनुपर्ने भन्दै वक्तव्य निकालेका कोशी प्रदेश सभापति राजेश तिमिल्सिनाले पनि पार्टी छाडिसकेका छन् । कारबाहीको तयारी भएपछि उनी आफैंले ‘रास्ता क्लियर’ गरिदिएका थिए । २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट उठेका रमेश खरेल पनि अहिले रास्वपामा छैनन् ।
प्रशिक्षण विभाग प्रमुख रहेका अनिलकेशरी शाह निष्क्रिय भइसके । केन्द्रीय सदस्य गणेश कार्कीमा पनि चरम असन्तुष्टी देखिँदै आएको छ । ठीक यही समय केन्द्रीय सदस्य रहेकी डा.तोसिमा कार्कीले पनि असन्तुष्टि पोख्दै पुनर्गठनको मुद्दा उछालेकी छन् ।
विस्तारित बैठकमा लिखित असहमति नै दर्ज गरिन् । तोसिमासँगै उपाध्यक्ष डा.स्वर्णिम वाग्ले पनि चुनावअघि कांग्रेसमै फर्किने चर्चा महामन्त्री गगन थापा निकटहरूमा चलेको छ ।
स्वर्णिमपछि मनिष झा र शिशिर खनालले पनि रास्वपा छाड्ने चर्चा चु्लिएको छ । रास्वपाले राजनीतिक मुद्दालाई भन्दा रवि लामिछाने जेल पर्नुलाई जनताको भावनामाथि खेल्ने साधन बनाएका कारण समस्या बढेको हो ।