Techie IT
Sunday, December 14, 2025 | आईतबार, मंसीर २८, २०८२
२०८२ मंसीर २८, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रत्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन


मलेखु । हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल ।

कठ्याङ्ग्रिँदो जाडोमा पनि खलखल पसिना बगिरहेको छ, तर उनलाई यसको कुनै प्रवाह छैन । भुजेल भन्छिन्, ‘हाम्रो काम उज्यालो भएदेखि अँध्यारो नभएसम्म बगरमा बालुवा खोज्ने हो । एक दिन अल्छी गर्‍यो भने अर्को दिन चुल्हो बाल्न गाह्रो हुन्छ । बिरामी परियो भने औषधि खाने पैसा हुँदैन । त्यसैले चिसो, गर्मी केहीको प्रवाह हुँदैन ।’

झापा स्थायी घर भएकी भुजेल श्रमकै लागि त्रिशूली किनारमा बस्दै आएकी छन् । उनी एकाबिहानै धादिङ र नुवाकोटको सीमामा पर्ने केउरेनी बगरमा पुग्छिन् । बगर खोतलेर बालुवा थुपार्छिन् । दिनभर यसरी नै बगरमा पसिना बगाएपछि साँझ मात्रै बासस्थान फर्किन्छिन् ।

‘कहिले बगरमा छरिएको बालुवा थुपार्न त कहिले नदीमा डुबेर बालुवा निकाल्दानिकाल्दै दिन बित्छ । यसरी जम्मा गरेको बालुवा चाल्ने, गाडीमा हाल्ने र त्यसबाट आर्जेको आम्दानीले बिहान बेलुकाको छाक टार्नुपर्ने बाध्यता छ । यो नै परिवारको जीवन धान्ने आधार हो’, उनले सुनाइन् ।

कल्पनासँगै उनका श्रीमान् विनोद भुजेलले पनि काम गर्छन् । उनकी एउटा छोरी छन्, उनलाई एउटा बालआश्रमले लगेर पढाइरहेको छ । बालुवा चालेर आएको पैसाले श्रीमान्, श्रीमतीको गर्जो टार्छन् ।

कल्पना र विनोद मात्रै होइन, नुवाकोट, धादिङ, चितवन, नवलपरासीलगायत जिल्लामा नदी किनारमै बसेर जीवन गुजार्ने सयौँ परिवार छन् । असिनपसिन पार्ने गर्मी होस् वा कठ्याङ्ग्रिँदो जाडो, उनीहरूको दैनिकी नदी किनारमै बित्छ ।

त्यसबाट हुने आम्दानी भने न्यून छ । दिनभरि खट्दा कहिले ५०० त कहिले ८०० आम्दानी हुने गरेको धेरैले बताउने गरेका छन्, त्यो पनि सधैँ हुँदैन । स्थानीय तह र प्रहरी प्रशासनले कडाइ गरेका बेला कमाइ शून्य हुने गरेको भुजेलले बताइन् ।

मजदुरका अनुसार हिउँदको बेला (हिजोआज) एक ‘टिप’ बालुवा जम्मा गर्न दुई जनालाई तीन दिनसम्म लाग्छ भने गाडीमा ‘लोड’ गर्न आधा दिन लाग्छ । त्यसबापत ठेकेदारले रु चार हजारदेखि बढीमा चार हजार ५०० रुपैयाँ दिन्छन् ।

सात वर्षदेखि यस्तै काम गरेर गुजारा चलाउँदै आएका नुवाकोट चाउथेका रामबहादुर सुनारले भने, ‘बूढाबूढीले बिहानदेखि बेलुकासम्म काम गरेर दिनको एक हजार रुपैयाँ कमाउन पनि मुस्किल पर्छ । प्रहरीले कडाइ गरेका बेला त त्यति पनि हुँदैन । लुकामारी गर्दै दिन बित्छ ।’

धादिङको सिद्धलेक गाउँपालिका–७ का बाबुराम आचार्यले पनि २५ वर्षदेखि बालुवामा पसिना चुहाएर परिवारका सामान्य आवश्यकता पूरा गर्दै आएका छन् । बालुवा चालेरै चार छोराछोरीको शिक्षादिक्षा, परिवारको गुजारा चलाउनु आफ्नो बाध्यता भएको उनले सुनाए ।

‘काम गरेको दिन चुलो बल्छ, नगरेको दिन भोकै परिन्छ । त्यसैबाट आएको केही रकमबाट गाँस काटेर छोराछोरीको शिक्षादीक्षाको व्यवस्था गर्छौँ’, आचार्यले भने ।

विशेषगरी नुवाकोटको बेलकोटगढी, धादिङको गल्छी र गजुरीमा पर्ने नदी किनार र बगरमा २०५० सालदेखि मजदुरले बालुवा निकाल्दै आएका छन् । धादिङतर्फ पर्ने त्रिशूली नदीको बेल्खु, घाटबेंसी, बाङ्गे, जरेखेत, महेशखोला, पोखरेखोला, मलेखुलगायत बगरमा मजदुरको सङ्ख्या बढी देखिन्छ ।

पानीमा डुबेर थुन्सेमा निकालेको र बगरमा छरपस्ट बालुवालाई अञ्जुलीले सोहोरेर जम्मा गरेको बालुवामा स्थानीय सरकारले कर छुट गरिदिए आफूहरूलाई ठूलो राहत हुने मजदुरको भनाइ छ ।

मजदुर भवानी अर्याल भन्छिन्, ‘सरकारले थुन्सेमा बोकेर गाडीमा लोड गरेको बालुवाको कर नलिइदिए गाडीवालाले हामीलाई अलिकति भए पनि पैसा बढी दिन्थेँ । कर पनि तिर्नुपर्छ भनेर बालुवा उठाउने ठेकेदारले हामीजस्ता मजदुरलाई पैसा कम दिन्छन् । घर छेउछाउतिरका बगरमा बालुवा निकाल्दा त झन् घरवालालाई पनि बाटोकर तिर्नुपर्छ । कि बाटोकर तिर, नत्र बालुवा ननिकाल भनेर समस्यामा पार्छन् ।’

जिल्ला प्रशासन कार्यालयले भने मजदुरको सुरक्षा, वातावरणीय जोखिमलाई मध्यनजर गरी त्रिशूली नदी र आसपासका अन्य खोलाबाट बालुवालगायत नदीजन्य सामग्री उत्खननमा रोक लगाएको छ । स्थानीय पालिकाले भने हरेक वर्ष बालुवा निकाल्न ठेक्का लगाउँदै आएका छन् । मजदुरका हितमा कुनै निकायले काम नगरेको मजदुरहरूको गुनासो छ ।

गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बालुवा निकाल्ने मजदुर सधैँ एकैठाउँमा नबस्ने र फेरबदल भइरहने भएकाले उनीहरूका विषयमा निर्णय गर्न समस्या हुने बताए ।

‘ठेक्का लागेका ठाउँमा होस् वा मजदुरले थुन्सेमा निकालेको बालुवा होस्, टिपको हिसाबले कर त उठाउँछौँ । मजदुर हितका लागि चाहेर पनि केही गर्ने मेसो मिलेको छैन । मजदुरबाट औपचारिक रूपमा केही माग भएर आएमा छलफल गर्न सकिन्छ’, उनले भने ।

त्रिशूली नदीले छुने गजुरी, थाक्रे, गल्छी, बेनिघाट गाउँपालिकाले बर्सेनि पाँचदेखि १० करोड रुपैयाँसम्मको ठेक्का लगाउने गरेको छ । रासस






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको…

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा

सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र सर्त रहेको बताएका छन्।

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख

एमालेको महाधिवेशनमा २हजार ४सय ६३ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको छ । महाधिवेशनमा निर्वाचित,

Techie IT