काठमाडौं । काठमाडौं महानगरमा ६८ करोड रुपैयाँ अनियमितता भएको प्रमाण भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले महानगरमा ६८ करोड रूपैयाँभन्दा बढी अनियमितता भएको ठहर गरेको हो ।
महालेखा परीक्षकको आर्थिक वर्ष २०८०–८१ को प्रतिवेदनअनुसार काठमाडौं महानगरमा दर्जनौं शीर्षकअन्तर्गत घोटाला भएको उल्लेख छ ।
यतिसम्म कि, भटाभट भुक्तानी गरेको महानगरसँग कतिपय निकास भएको रकमको त हिसाबकिताब नै छैन । मेयर बालेन साहका सल्लाहकारले विदेश भ्रमण गरेको रकममाथि पनि प्रश्न उठिरहेको छ । महालेखा परीक्षकले विदेश घुमघाममा भएको ५२ लाख ५४ हजार ७७ रूपैयाँ ७५ पैसा खर्चलाई पनि अनियमित ठहर गरेको छ ।
विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७७ औं संस्करणमा सहभागी हुन एक्लैलाई निमन्त्रणा आएकोमा बालेनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साललाई पनि फ्रान्स लगिएको थियो ।
उनीहरूले विदेशमा गरेको लाखौं खर्चको भुक्तानी महानगरको ढुकुटीबाट गरिएको थियो । सो भ्रमणमा २० लाख ४९ हजार १६५ रूपैयाँ खर्च भएको थियो । महालेखाले सो खर्चलाई बेरुजु बताएको छ ।
त्यसैगरी, बालेन र सुनिल ‘मेट्रोपोलिस बोर्ड अफ डिरेक्सन मिटिङ’ का लागि ब्राजिल गएका थिए । उनीहरूको हवाई भाडाबापत १० लाख २३ हजार रूपैयाँ खर्च भएको छ ।
महालेखाले त्यसलाई पनि अनियमित भनेको छ । महानगरले आफ्ना कर्मचारी, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको भ्रमण व्यवस्थापन गरेको थियो । उनीहरूलाई मुलुकका विभिन्न स्थानसहित भारत र बंगलादेश घुमाइयो । सो भ्रमणमा महानगरको १९ लाख ७४ हजार ६७५ रूपैयाँ सकिएको छ ।
महालेखाले घुमघाममा भएको उक्त खर्चलाई पनि बेरुजु ठहर गरेको छ । यसबारे सोधपुछ गर्न अख्तियारले बालेनलाई बोलाएको छ । त्यस्तै सहकारीको रकममा पनि अपचलन भएको बुझिएको छ ।
महालेखाका अनुसार महानगरले समस्याग्रस्त सहकारीको सम्पत्ति र दायित्व व्यवस्थापनका लागि कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन । त्यस्तै महानगरले कर उठाउने मामलामा पनि पक्षपात गरेको आरोप छ ।
महालेखाका अनुसार महानगरले अजेयराज सुमार्गी पोखरेल, बतास अर्गनाइजेशन प्रालि, राजेश तुलाधर, शालिमार हस्पिटालिटी एण्ड फुड्स प्रालि, अञ्जु गुरुङ, बोन्डर्स नेपाल प्रालि, देवेन्द्रबहादुर भण्डारी, नेपाल नेशनल हस्पिटल प्रालि, श्री प्रकाश र राजप्रकाश श्रेष्ठ, देवकुमार नेपालीबाट चार करोड ७५ लाख १७ हजार ५९ रूपैयाँ बहाल कर उठाउन बाँकी छ ।