काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वमा लागि आज मतदान हुँदैछ । मतदान दिउँसो चार बजेबाट सुरु हुनेछ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर प्यानलसहित प्रतिस्प्रर्धामा रहेकाछन् ।
ओली प्यानलबाट महासचिवमा शंकर पोखरेल र ईश्वर प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार रहेका छन् । मतदानस्थल भृकुटीमण्डपमा बिहान देखि नै नेतारकार्यकर्ताहरू उपस्थित छन् । उम्मेदवारका पक्षधर नेतारकार्यकर्ताहरू प्रचारमा रहेका छन् ।
नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुनुअघि केपी शर्मा ओली पक्षका नेताहरुले महाधिवेशन स्थलमा आक्रामक प्रचार गरिरहेका छन् । ईश्वर पोखरेल समूह भने फिल्डमा सुस्त देखिन्छ । नेताहरूका अनुसार ईश्वर पोखरेल समूह फिल्डमा कम देखिएता पनि भित्री रणनीतिमा रहेको छ ।
खासगरी एमालेको प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूसँग ईश्वर समूह संवादमा छ । नेता रघुजी पन्तले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
उनी ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवारका आकांक्षी थिए । प्यानलमा नपरेपछि उनले स्वतन्त्र ढंगले उम्मेदवारी दिएका हुन् । ओली प्यानलबाट पदाधिकारीका आकांक्षीद्धय अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् ।