काठमाडौं । नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले आदेश नदिएको बताएका छन् । यससँगै उनको चर्को आलोचना भइरहेको छ ।
खापुङले भदौ २३ र ३४ गतेको घटना जाँचबुझका लागि बनाएको आयोगसँगै विभिन्न सञ्चारमाध्यममा गएर उक्त दिन ओली र लेखकले गोली चलाउन आदेश नदिएको भन्दै स्पष्टीकरण दिइरहेका छन् । खापुङका अनुसार प्रहरीले त्यस दिन आफ्नो कर्तव्य पूरा गर्ने सिलसिलामा गोली चलाएको बताइरहेका छन् ।
त्यस दिन संसद भवनसँगै सार्वजनिक सम्पत्ति र आफ्नो ज्यान जोगाउनु नै प्रमुख कुरा भएकाले त्यसै सिलसिलामा प्रहरीले गोली चलाएको उनको भनाइ छ । प्रहरीले कर्तव्य पूरा गर्दा दश ठाउँमा जवाफ दिँदै हिँड्नुपर्ने हो भने देशमा प्रहरीकक संगठन नै खारेज गरे हुने खापुङको बुझाइ छ । यससँगै आइजिपी खापुङमाथि उनकै आदेशमा ड्युटीमा खटिएका प्रहरीले गोली चलाएको भन्ने आरोप पनि लागेको छ ।
फिल्डमा खटिएका एक अधिकृतका अनुसार भदौ २३ गते करिब १ बजेतिर आईजीपी खापुङले प्रहरी सञ्चारसेटबाट गोली चलाउन आदेश गरेका हुन् । प्रदर्शनकारी संसद् भवनमा केन्द्रित भएपछि खापुङले गोली चलाउन आदेश दिएको फिल्डमा खटिएका अधिकृतको भनाइ छ । आईजीपीको आदेशपछि संसद् भवनको सुरक्षामा खटिएको केन्द्रीय विशेष कार्यदलका सुरक्षाकर्मीले ननस्टप गोली चलाएको बताइएको छ ।
प्रहरी प्रधान कार्यालयको मातहत रहेर संसद् भवनको सुरक्षामा परिचालित एसटीएफको कमाण्ड इन्स्पेक्टर सामन्त अधिकारीले गरेका थिए । संसद् भवन परिसरमा प्रहरी वरिष्ठ उपरीक्षकद्व सोमेन्द्र सिंह राठौर र दिप शमशेर जबरा पनि खटिएका थिए । जबरा उपत्यका प्रहरी कार्यालयको अप्रेसन कमाण्डर हुन् ।
जेनजी आन्दोलन सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले फिल्ड कमाण्डरहरूसँग बयान लिन थालेको छ । दङ्गा नियन्त्रण, आतङ्कवाद, अपहरण एवं प्रकोपमा परिचालित हुनेगरी गठन गरिएको कार्यदलका सुरक्षाकर्मीले उच्च क्षमताको तालिम लिएका हुन्छन् । सो फौज आधुनिक हातहतियार र फौजी संरचनामा परिचालित हुन्छ ।
जेनजी प्रदर्शनको सुरुको दिनमा कफ्र्यु आदेश जारी हुनु अघिसम्म लाठीचार्ज, अश्रुग्याँस, पानीको फोहरा, डमी राउण्ड र रबर बुलेटमात्र प्रहार गरिएको फिल्डमा खटिएका अधिकृतहरूले दाबी गरेका छन् ।