काठमाडौं । जेनजीको आन्दोलनपछि कांग्रेस, एमाले र माओवादीभन्दा रास्वपा बढी रक्षात्मक अवस्थामा पुगेको छ । भीडको बलमा नक्कली पत्र देखाएर पार्टी सभापति रवि लामिछाने जेलबाट भागेका कारण रास्वपा अप्ठेरोमा परेको हो ।
परम्परागत दलमाथि गम्भीर प्रश्न उठेका नयाँ दल रास्वपा पनि रक्षात्मक बनेको हो । भ्रष्टाचारको अन्त्य र सुशासनको मुख्य माग राखेर जेनजीले भदौ २३ गते आन्दोलन गरेका थिए । पहिलो दिनको आन्दोलनमा बानेश्वरमा १९ युवाको ज्यान गयो ।
त्यसको भोलिपल्ट तोडफोड र आगजनीमा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहितका सरकारी संरचनालाई आन्दोलनकारीले ध्वस्त बनाए । जेनजीको माग एकातिर थियो, तर दोस्रो दिनको आन्दोलनलाई रास्वपाले सहकारी ठगीमा जेल परेका लामिछानेलाई बाहिर निकाल्ने मौकाका रूपमा लियो । जबकि रविमाथि पाँचवटा जिल्ला अदालतमा सहकारी ठगी मुद्दाको अन्तिम किनारा लागेको थिएन ।
जेनजी आन्दोलनको हुलमुलमा रविलाई छुटाउन पार्टीकै नेताहरूले २४ गते अभियान नै चलाए । नख्खु पुग्न सामाजिक सञ्जालमा उर्दी जारी गरे । त्यसैका लागि कार्यवाहक सभापति डोलप्रसाद अर्याल, हरि ढकालसहितका नेता रविलाई छुटाउन नख्खु कारागार पुगे । उनीहरूको समेत मिलेमतोमा रविलाई छुटाउन कारागार प्रशासनको तर्फबाट नक्कली पत्र नै बनाइयो ।
रवि छुटेलगत्तै जेनजीहरूले उनलाई छुटाउने माग आफूहरूको नभएको भन्दै ‘ब्याक टु जेल’ ट्रेन्ड चलाए । यतिसम्म कि अघिल्लो दिनसम्म लामिछानेको पक्षमा खुलेर लाग्नेहरू ‘ब्याक टु जेल’को ह्यास्ट्याग लेख्न थाले । सुरक्षा दिन नसकिएको भन्दै रविलाई छुटाउन नख्खु कारागार प्रमुख सत्यराज जोशीले पत्र दिएको दाबी गरियो ।
चौतर्फी दबाब बढेपछि रविले भिडियो सन्देश जारी गर्दै जोशीको पत्रपछि आफू सुरक्षाका लागि छुटेको जिकिर गरे । तर, कुनै अंश नै नमिलेको पत्र आफ्नो नाममा जारी गरिएकोप्रति जोशीले अनभिज्ञता देखाउँदा रवि र रास्वपा रक्षात्मक बन्न पुगेको हो । रविलाई छुटाउन गरिएको हतकण्डा र नक्कली पत्रको असर देशभरका कारागारमा पर्यो ।
लामिछाने छुटे भनेपछि देशभरका कारागारका बन्दीले पनि छुट्न पाउनुपर्ने माग गरे । जेलभित्रै आगो लगाउने, प्रहरीमाथि जाइलाग्ने जस्ता विध्वंश मच्चाउन शुरू गरे । यस क्रममा देशभरबाट हजारौं कैदी भागे । भाग्ने क्रममा प्रहरीले चलाएको गोलीले ११ कैदीको ज्यान गयो । अझै पनि गम्भीर प्रकृतिका मुद्दा लागेका हजारौं कैदीबन्दी जेलबाहिर छन् ।