(२०७८ सालको बाढीले खियाएको मेरो शरीर हेरेर तिमी केही बुझ्छौ ?)
म यो घर हुँ , पहाडको फेदमा, खोला छेउमा
एक दिन हर्षले मुस्कुराएको थिएँ, परिवारको हाँसोले भरिएको थिएँ
तर २०७८ सालको बाढीले मेरो खुट्टा बगायो
म काँपिरहेको छु, हरेक वर्षको मनसुनसँगै।
अब फेरि मनसुन सुरु भैसकेको छ,
बादलको गर्जन सुन्दा डर लाग्छ
खोला बढ्न थाल्छ, अनि म सोच्न थाल्छु–
के यसपालि म टिक्न सकुँला ?
कृपया चेतनशील बन,
म जस्तै अरू कति घर, कति सपना नदी किनारमा जोखिममा छन्
समयमै सुरक्षित स्थानान्तरणको, सुरक्षा उपाय र चेतना आवश्यक छ।
म उभिएको छु— अझै पनि समय छ
तर कृपया, जोखिमलाई नगर बेवास्ता
अब फेरि मनसुन आइसकेको छ
बादल गर्जिन्छन्, खोला सुसेलिन्छ
र म, यो कमजोर देह लिएर, आकाशतिर हेर्छु–
के कसैले मेरो पीडा सुन्छ ?
म बोल्न सक्दिनँ, तर मेरो चिरा परेको पर्खालहरू बोल्छन्
मेरो झुकेको आकृति कराइरहेको छ— सावधान होऊ !
यो समय हो चेतनाको — नत्र पछुतो मात्र बाँकी रहनेछ
जो म जस्तै नदीकिनारमा छन्,
ती सबैलाई सुरक्षित स्थानमा लैजाने दायित्व कस्को हो ?
म अझै उभिएको छु— तर यो अन्तिम पटक हुनसक्छ।

मेरो कथा बुझ, अरू घरहरू बग्नु नदिनू
कृपया, चेत– म होइन, अब तिमी पनि हुन सक्छौ
प्रकृति रिसाउँदा इँटा, काठ, सिमेन्ट र फलाम बलिया हुँदैनन्
बलियो त चेतना हो— जो समयमै कदम चाल्न सक्छ।
र मात्र होइन, सपना बग्छन् बाढीले
कृपया अविलम्ब सावधानी अपनाऔं
जो म जस्तै खोला छेउमा छन्— उनीहरूलाई सुरक्षित बनाऔं
नत्र भविष्यका कयौं ‘म’हरू बाँकी हुने छैनन् यो संसारमा
म अझै उभिएको छु— चर्किएको, थाकेको, तर केही बोल्न खोज्दै
मेरो कथा नसुन्दै नहिँड, नत्र कुनै दिन तिमी नै मेरो ठाउँमा हुन सक्छौ।
म एउटा तस्बिर होइन, म एक चेतावनी हुँ
सुन, बुझ, र बँच अनि बचाऔं आफैंलाई, र अरूलाई !!!