काठमाडौं । देशका आर्थिक सूचकहरुमा निकै लोभलाग्दो गरी सुधारका संकेत देखिएका छन् । चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिना मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम चार खर्ब ९१ अर्ब रूपैयाँले धेरै भएको छ । जसलाई भुक्तानी सन्तुलन तथा शोधानान्तर बचत समेत भनिन्छ ।
२०८०–८१ को ११ महिनामा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम चार खर्ब २५ अर्बले धेरै थियो । मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो । आर्थिक वर्ष २०७८–७९ को असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा देखिन थालेको हो ।
रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको हो । यसको अनुपातमा आयातमा सामान्य मात्रै सुधार देखिएको कारण पनि भुक्तानी सन्तुलन देखिएको हो । वार्षिक आधारमा सात वर्ष पछि गत आर्थिक वर्षबाट मुलुकको चालु खाता नाफामा देखिएको थियो ।
त्यस्तै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठसम्म वार्षिक मुद्रास्फीति २.७२ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा यो ४.१७ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहको छ ।
अघिल्लो वर्ष यी दुई समूहको क्रमशः ५.८५ प्रतिशत र ३.०९७ प्रतिशत मुद्रास्फीति थियो । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यु तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.०६ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशत, फलफूलको ३.५१ प्रतिशत र दाल तथा गेडागुडीको २.८५ प्रतिशत छ ।
तरकारीको ७.०४, मरमसलाको ३.०६ र माछा तथा मासुको २.९१ प्रतिशत रहेको तथ्यांक छ । गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाको ९.४३ प्रतिशत, कपडा तथा जुत्ताचप्पल ६.८२, शिक्षा ५.८८, फर्निसिङ तथा घरायसी उपकरण ५.०६ र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशत बढेको छ ।
ग्रामीण क्षेत्रमा २.९० र सहरी क्षेत्रमा २.६६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।