काठमाडौं । अमेरिकाबाट थप ३७ नेपाली निष्कासनमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले निष्कासन गरेका सबै ३७ जनालाई चार्टर विमानबाट बुधबार नेपाल फिर्ता गरिएको हो । अध्यागमन विभागकाले बुधबार दिउँसो चार्टर विमानबाट उनीहरूलाई नेपाल ल्याइपुर्र्याएको जनाएको छ ।
उनीहरूलाई अमेरिकाले ‘उडान नम्बर एन ८२८ एएक्स’ नम्बरको जहाजबाट नेपाल ल्याइएको हो । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता आधिकारिक कागजात नभएका र ‘आपराधिक’ गतिविधिमा संलग्न रहेको आरोप लागेकासहितका आप्रवासीलाई देश निष्कासन गर्ने योजना कार्यान्वयनमा ल्याएसँगै हालसम्म २ सय १५ नेपाली ‘डिपोर्ट’ भइसकेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको अभिलेखअनुसार हालसम्म १ सय ९७ पुरुष र १८ महिलालाई अमेरिकाबाट काठमाडौं ल्याएर छाडिएको छ । हालसम्म ‘डिपोर्ट’ भएर नेपाल फिर्ता हुनेमा २८ जिल्लाका रहेकामा थप ३७ जनालाई पनि विमान चार्टर गरेर अमेरिकाले नेपाल पठाएको हो ।
अध्यागमन विभागका अनुसार हालसम्म अमेरिकाबाट नेपाल पठाइनेमा दाङ, पश्चिम रुकुम, पूर्वी रुकुम, सल्यान, म्याग्दी, पर्वत, बाँके, रोल्पा, बागलुङ, सिन्धुपाल्चोक, काठमाडौं, जाजरकोट, दोलखा, कास्की, कैलाली, कञ्चनपुर, गोरखा, जुम्ला, झापा, डोटी, डोल्पा, धनकुटा, पर्सा, मकवानपुर, मुस्ताङ, मोरङ, सिन्धुली र सुनसरीका छन् । सबैभन्दा बढी दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका छन् ।
‘डिपोर्ट’ भएर आउनेहरू अधिकांश संगठित गिरोहलाई रकम बुझाएर तल्लो रुट (अवैध बाटो) बाट अमेरिका प्रवेश गरेका देखिएको प्रहरीले जनाएको छ । विभिन्न देशमा सक्रिय गिरोहमार्फत तल्लो रुटबाट अमेरिका पुगेका हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले २० जनवरी २०२५ बाट दोस्रो कार्यकाल सुरु गरेलगत्तै नेपालसहित विभिन्न देशबाट अमेरिका पुगेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएपछि त्यहाँको अध्यागमन र भन्सारको संयुक्त संयन्त्रले कागजातविहीन आप्रवासीलाई धरपकड सुरु गरेको थियो ।