Techie IT
Monday, August 25, 2025 | आईतबार, भदौ ८, २०८२
२०८२ भदौ ८, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रनेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुँदै

नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुँदै


काठमाडौँ । पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुनेभएको छ । बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोजना गर्न लागिएको आज राजधानीमा आयोजित घोषणा सभामा जानकारी दिइयो ।

महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरसम्म पामे क्षेत्रमा तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । नेपाल बलुन प्रालिका अध्यक्ष बिक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बलुन कम्पनीहरुको सहभागिता रहने लक्ष्य रहेको छ । पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

“पर्यटन राजधानी पोखरामा साहसिक पर्यटनको विकास, थप आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढाउनका लागि महोत्सव आयोजना गर्न लागिएको हो, यसबाट पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा गरिएको छ”, अध्यक्ष बाडेले भने ।

फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरुले अपेक्षा गरेको उनले बताए । कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुनेमा उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन क्यालेनडरमा नयाँ कार्यक्रम थप भएकामा खुसी व्यक्त गर्दै महानगर कार्यक्रमको संरक्षक र प्रवर्द्धक रहने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले महोत्सव मुलुकको पर्यटन क्षेत्रको हितमा भएको उल्लेख गर्दैै खुसी व्यक्त गरे । “एअर स्पोर्टस् एड्भेञ्चर सबै पोखराबाटै सुरु भएका छन् । हामीले जुनसुकै क्षेत्रमा आबद्ध भएर काम गरेपनि ती सबै राष्ट्रिय हितकै लागि भएका छन् । तसर्थ पोखरामा आयोजना हुन लागेको ‘इन्टरनेसनल बलुन फेस्टिभल’ले पनि नेपालको समग्र पर्यटन प्रवर्द्धन नै टेवा पुर्‍याउनेछ ।”

कम्पनीका निर्देशक विवि ढकालले महोत्सवमार्फत पोखराको पर्यटनमा नयाँ आयाम थपिने बताए । “प्राकृतिक स्रोत र साधनले धनी पोखरा पछिल्लो समय साहसिक पर्यटनका लागि पनि गन्तव्य बन्दै गइरहेको छ । यस सन्दर्भमा बलुन महोत्सव पोखरालाई साहसिक पर्यटकीय गन्तव्य बनाउने योजनामा थप सहयोगी हुनेमा हाम्रो विश्वास छ”, उनले भने ।

कार्यक्रमले पोखरामा आउने आन्तरिक तथा विदेशी पर्यटकलाई नयाँ अनुभव प्रदान गर्ने बताउँदै बेलुन नेपालका प्रवन्ध निर्देशक सबिन महर्जनले कार्यक्रमले उक्त क्षेत्रको आर्थिक विकास, सांस्कृतिक आदानप्रदानका साथै विभिन्न देशमा कूटनीतिक सम्बन्ध विस्तार समेत बिश्वास व्यक्त गरे ।

“महोत्सवमार्फत कोभिड महामारीपछि नेपालको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिने लक्ष्य लिइएको छ र यसले पोखरामा रहेका होटल, रेस्टुरेन्टलगायतको व्यापार व्यवसायलाई आर्थिक रूपमा मद्दत पुर्याउने हाम्रो विश्वास छ । यसका साथै, महोत्सवले नेपालका संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नेछ”, बलुन नेपालका दिपक कुमार श्रेष्ठले बताए ।

विश्वमा सन् १९७२ मा पहिलो पटक अमेरिकामा अबुक्वेक्यु इन्टरनेशन बलुन फियस्ता सुरु भएको थियो । प्रत्येक वर्ष न्यू मेक्सिकोमा आयोजना हुने यो महोत्सवमा करिब ५०० वटा हट एयर बलुनले उडान गर्छन् । उक्त महोत्सवमा विश्वभरबाट १० लाखभन्दा बढी पर्यटक उपस्थित हुन्छन् । त्यसबाहेक सन् १९७९ मा इङ्ग्ल्याण्डको ब्रिस्टोलमा स्थापना भएको बलुन फेस्टिभलल पनि विश्वभर प्रख्यात छ ।

त्यसबाहेक जापानमा सागा इन्टरनेशनल बलुन फियस्ता, फ्रानसमा मोन्डायल एयर बलुन्स इभेन्ट, टर्कीमा क्यापाडोसिया इन्टरनेशनल बलुन फेस्टिभल विश्वका प्रमुख बलुन महोत्सवमा पर्छन् ।

आयोजकका अनुसार फेस्टिभल अवधिभर हरेक दिन विहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरुले हट एयर बेलुनको उडान गर्नेछन् । एक सातासम्म चल्ने महोत्सवमा करिब पाँच सय व्यावसायिक उडान हुनेछन् । जसमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिब तीन सयवटा गैर व्यावसायिक उडान हुनेछन् ।

फेस्टिभलका अवसरमा पोखरामा मिनि बलुन सो पनि हुनेछ । उक्त अवधिभर ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ । फेस्टिभलमा एकै पटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुनेछ । सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने त्यसबाहेक फेस्टिभलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुनेछ । फेस्टिभल आयोजना गर्नका लागि छ करोड ८२ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

हट एयर बलुनमा सामान्यतयाः ४० मिनेटको लामो उडान हुन्छ । उडानका क्रममा अन्नपूर्ण, माछापुछ्रे र धौलागिरीलगायतका हिमश्रंखलासहित पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । त्यसैगरी सूर्योदय र सूर्यास्तको मनोरम दृश्यका साथै, नाइट बलुन ग्लोज, प्रत्येक दिन २० मिनेट फायर वर्क्स, बलुसन रेस, कन्सर्ट, विभिन्न खेल, फूडकोर्ट, सांस्कृृतिक नृत्य, डिजे म्युजिक तथा नाइट क्याम्पलगायतका मनोरञ्जनात्मक गतिविधि हेर्न पाइनेछ ।

विसं २०७३ सालमा स्थापना भएको बलुन नेपाल प्रालिले २०७५ सालदेखि पोखरामा हट एयर बलुनको व्यावसायिक उडान गर्दै आएको छ । कम्पनीले गत फेब्रुअरीमा थाइल्याण्डमा सम्पनन ‘इन्टरनेशनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाइसकेको छ ।

त्यस अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडीले समग्र पोखरेली पर्यटन व्यवसायी फेस्टिभललाई सफल बनाउन तयार रहेको बताए । त्यस अवसरमा प्यासिफिक एसिया ट्राभल एसोसिएसनका उपाध्यक्ष सुमन पाण्डे, राष्ट्रिय पर्यटन व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र सापकोटा, गण्डकी प्रदेशको प्रेस रजिष्ट्रार बिमला भण्डारीलगायतले कार्यक्रमले पोखराको मात्र नभई समग्र नेपालकै साहसिक पर्यटनको प्रवर्द्धन अन्तर्राष्ट्रिय क्षेत्रमा समेत हुनेमा विश्वास व्यक्त गरे ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

स्थानीय तहको घरदैलोमा सेवा, सहरसम्म सुविधा

चौतारा । संघीयताको मूल मन्त्र ‘गाउँगाउँमा सिंहदरबार’ अहिले यथार्थमा रूपान्तरित हुँदै गएको छ । देशले संघीयता अपनाएको आठ वर्षपछि स्थानीय

तीन हप्तापछि आंशिक रूपमा खुल्यो तातोपानी नाका

चौतारा । नेपाल–चीनबीचको प्रमुख व्यापारीक नाका तातोपानी आंशिक रुपमा सञ्चालनमा आएको छ । ३ हप्तादेखि पहिरोका कारण अवरुद्ध रहेको कोदारी

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

फेसबुकमा प्रधानमन्त्रीको आलोचना गरेकै आरोपमा मंगलसिंह पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा सामाजिक अभियन्ता एवं माओवादी कार्यकर्ता मंगलसिह प्रजा पक्राउ

ज्योति मगरको ज्योतिले हल्लियो धेरैको माथिंगल, शरीर अश्लील कि नजर…

काठमाडौं । धेरैले गायिका ज्योति मगरलाई अंग प्रदर्शन गर्ने कलाकारका रुपमा चिन्छन् । तर, पछिल्लो समय एउटा उनले एउटा पडकास्टमा

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा चरम आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाह्रविसे नगरपालिकाका

Techie IT