काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले एक भारतीय टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा राखेका हुन् ।
अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री भट्टराईले गत भदौमा भएको जेनजी विद्रोह स्वाभाविक र जायज भएको बताएका छन् । उनले जेनजी आन्दोलन हुनुको पछाडि सामाजिक र आर्थिक कारणसमेत रहेको प्रस्ट पारे ।
जेनजी आन्दोलन हुनुको पहिलो कारण प्रस्ट्याउँदै उनले नेपालमा युवाहरू बेरोजगार रहेको, गुणस्तरीय शिक्षा नभएकाले युवा वर्ग असन्तुष्ट रहँदै आएको बताए । सरकारी तहमा हुने गरेको भ्रष्टाचारलाई उनले जेनजी आन्दोलन हुनुको दोस्रो प्रमुख कारणका रूपमा चित्रण गरेका छन् ।
यस्तै, सामाजिक सञ्जालमाथि तत्कालीन सरकारले लगाएको प्रतिबन्धका कारण पनि ठुलो पंक्ति असन्तुष्ट भएर सडकमा निस्किएको डा भट्टराईको ठहर छ । उनले हालै जेनजी प्रतिनिधि र सरकारबिच भएको सम्झौताको पनि प्रशंसा गरेका छन् ।
भट्टराईले पुराना दलहरूबाट अब नेपालमा राजनीतिक सुधार सम्भव नभएको प्रस्ट पार्दै वैकल्पिक शक्तिका रूपमा नयाँ दलहरू गठन भइरहेको बताए । चुनावमा वैकल्पिक राजनीतिक शक्तिहरूबिच गठबन्धनको सम्भावना रहेको पनि उनले प्रस्ट पारे ।
आफूहरू अब युवा शक्ति अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको भट्टराईले प्रस्ट पारे ।