काठमाडौं । नेपालको कालापानीको सीमासम्बन्धी मुद्दा पहिलोचोटि अन्तर्राष्ट्रिय मञ्चमा दर्ज भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणको क्रममा कालापानीसम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा दर्ज भएको हो ।
प्रधानमन्त्री ओलीले नेपाली भूभागमाथि दुई ठूला छिमेकी मित्रराष्ट्रहरु मिलेर दुई साताअघि सम्पन्न व्यापार सम्झौता अतिक्रमणकारी भएको धारणा चिनियाँ रास्ट्रपतिसामु राखेका हुन् ।
चीनको हुने सांघाईमा भइरहेको एससिओको २५ औं शिखर सम्मेलनमा भाग लिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग उक्त विषय प्रष्टसँग राखेका हुन् ।
बेइजिङस्थित नेपाली राजदूतावासले लिखितमा र परराष्ट्र सचिव अमृतबहादुर राईले सञ्चारमाध्यमसँग अन्तर्वार्ताको क्रममा उक्त कुरा उल्लेख गरेका हुन् । चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली र सचिव राई दुबै जना हिजो अपरान्हको द्विपक्षीय वार्तामा सहभागी थिए ।
उक्त वार्तामा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरु काँग्रेस उपसभापति तथा सांसद पूर्णबहादुर खड्का, शिक्षा मन्त्री रघुजी पन्त र पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेलगायतको उपस्थिति थियो । चिनियाँ राष्ट्रपति सिले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा नेपालका लागि चिनियाँ राजदूत छन सोङको समेत सहभागिता थियो ।
प्रधानमन्त्री ओलीले लिपुलेक नाका, कालापानी, लिम्पियाधुरा क्षेत्र नेपालको भएको बताउँदै भारत र चीनबीच हालैको व्यापार आदानप्रदान सम्झौताले नेपाली सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप गरेको धारणा राखेका थिए । प्रत्युत्तरमा चिनियाँ राष्ट्रपति सिबाट लिपुलेकलगायतको नेपाली भूभागबारे गरिएको दावीमा कमी हुने काम आफूहरुले नगर्ने वचन प्राप्त भएको सचिव राईले जानकारी दिएका छन् ।
नेपालको उक्त दावीप्रति चीनले सम्मान प्रकट गरेको उनको भनाइ छ । यससँगै कालापानीलगायत भारतले सन १९६२ देखि नियन्त्रण गर्दै आएको नेपाली भूमिसम्वन्धी स्वामित्वको बिषय रास्ट्र र सरकार प्रमुखवीच औपचारिक छलफलको कूटनीतिक अभिलेखमा पहिलो पटक दर्ज भएको हो । एससिओ शिखर सम्मेलनको पूर्वार्धमा यो विषय उठाएर नेपालले अन्तर्राष्ट्रिय मञ्चमा एउटा राम्रो पहल गरेको सन्देश दिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत उक्त सम्मेलनमा सहभागी हुन त्यता गएका छन् । रुसी राष्ट्रपति, पाकिस्तानी प्रधानमन्त्रीलगायत २० भन्दा बढी मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुले सम्मेलनमा भाग लिँदैछन् ।यता प्रधानमन्त्रीको अहिलेको चीन भ्रमण निकै महत्वपूर्ण भएको चिनियाँ पक्षले समेत बताएको छ ।
उनीहरुका अनुसार एक वर्ष नपुग्दै चीनको दोस्रो भ्रमण हुनु, सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा माथिल्लो तहबाट नेपालको सक्रिय सहभागिता रहनु, द्विपक्षीय वार्तामा आफ्ना कुरा प्रष्टसँग राख्नु र बुधबार बेइजिङमा हुने भव्य सैन्य परेडको अवलोकनमा नेपालका प्रधानमन्त्रीको उपस्थिति रहनुलाई चिनियाँ पक्षले उपलब्धिमूलक र महत्वपूर्ण भन्ने संज्ञा दिएको छ ।