गाउँको गोरेटोबाट सुरु भएको एउटा संघर्षको यात्रा, जुन राजधानीको विश्वविद्यालयको ठूलो मञ्चमा पुगेर थामिएको छैन, अझैपनि निरन्तर अग्रसर छ। त्यो यात्रा हो—हिक्मत कुमार बुढाको। अछामको दुर्गम भेगबाट सुरु भएको यो यात्रा कुनै सामान्य पढाइको कथा होइन, यो कथा हो सपनाको, त्यागको, हार र जितको, अनि राजनीतिक परिपक्वताको। र यस यात्राको प्रत्येक मोडमा एउटै नाम छ—मदन बिस्ट।
हिक्मतको बाल्यकाल टाढा–टाढाका पहाडहरू, झरना, अनि माटोको गन्धसँग जोडिएको थियो।सुदुरपश्चिमको विकट गाउँ, तुर्माखाद गाउँपालिका–३, अछाममा जन्मेका हिक्मतको जीवन सुरुवातमै सहज थिएन। अभाव थियो—शैक्षिक, भौतिक र सामाजिक। तर अभावकै बीचमा पनि सपना देख्न छाडेनन् उनले। सुरुमा पुष्पाञ्जली प्राथमिक विद्यालय, लकान्द्रमा अक्षर चिन्न थालेका हिक्मतले आफ्नो पढाइ भैरव मावि हुँदै जन मावि सुर्खेतबाट एसईई (२०७१) सम्म पुर्याए। त्यति बेला पनि गाउँलेहरू भन्थे, ‘यो केटो केही गर्छ।’
उनको यात्रा एसओएस हर्मन माइनर विद्यालय, कालागाउँ सुर्खेतबाट म्यानेजमेन्ट विषयमा भयो। अनि स्नातक तहमा सुर्खेत मोडेल कलेजबाट BBS पूरा गरेपछि उनको गन्तव्य बन्यो—कीर्तिपुर। व्यवस्थापन केन्द्रीय क्याम्पस, कीर्तिपुरमा अध्ययन गर्दै गर्दा उनले काठमाडौंमा अर्कै प्रकारको संसार देखें। यहाँ पुस्तौंदेखि राजधानीमै हुर्केका, सहरमा सघर्ष नगरी पढ्दै आएका विद्यार्थीहरूबीच एक अछामी युवाको उपस्थिति स्वाभाविक रूपमा चुनौतीपूर्ण थियो। तर यही चुनौतीलाई उनले आफ्नो अवसर बनाइरहे।

हिक्मतको राजनीति प्रवेश कुनै योजनाबद्ध कदम थिएन, त्यो त एक अनायास आएको परिस्थितिको परिणाम थियो। २०७९ सालमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सदस्य पदमा उम्मेदवारी दिए। तर त्यही चुनावमा झिनो मतले पराजय भोग्नुपर्यो। त्यो हार उनको लागि पहिलो चोट थियो। तर त्यो चोट कुनै अन्त्य थिएन, त्यो त सुरुवात थियो। चुनाव हारेर पनि उनी विश्वविद्यालयमा निरन्तर सक्रिय रहिरहे। उनले बुझे, ‘राजनीति पदको खेल होइन, यहा संघर्षकै हिसाब किताब हुन्छ।’
त्यो समयमै उनको भेट भयो— मदन बिस्टसँग । नेतृत्वका प्रतीक, संगठनका ज्ञाता र निस्वार्थ प्रेरक मदन बिस्टसँगको भेटले हिक्मतको राजनीतिक जीवनलाई नयाँ दिशा दियो। विश्वविद्यालयको राजनीतिक परिवेशमा घुलमिल हुन, बुझ्न, र आफूलाई प्रमाणित गर्न मदन बिस्ट उनको सबैभन्दा बलियो हिम्मत बनिदिए।
मदन बिस्ट त्रिभुवन विश्वविद्यालयको त्यो नाम हो जसले नतमस्तक बनाउँछ— बुद्धिमा, व्यवहारमा, र नेतृत्वमा। उनी केवल शिक्षक जस्ता थिएनन्, मार्गदर्शक, साथी, र अभिभावक पनि थिए। उनले राजनीतिलाई सेवा, संघर्ष र त्यागको पर्याय बनाए। उनले पार्टी लाइन नघुमाई संगठनका आधारभूत मूल्यहरू बुझाउने, अनि विश्वविद्यालयभित्र नेतृत्वको बीउ रोप्ने काम गरिरहे।
हिक्मतले एकपटक भनेका थिए, ‘म राजनीतिमा कहिल्यै आउँदिन भन्ने सोच्थें, तर जब मैले मदन दाइको साथ र कुरा सुने, त्यसपछिको रात निद्रा नै लागेन। लाग्यो- मलाई पनि केही गर्नुछ।’
मदन बिस्ट त्रिभुवन विश्वविद्यालयमा संगठन निर्माणमा सक्रिय, विचारमा दृढ र नेतृत्व उर्जामा केपी ओली तथा महासचिव शंकर पोखरेलनिकट सस्थापन धारका व्यक्तित्व हुन्।
२०८१ को निर्वाचनमा हिक्मतले स्वतन्त्र विद्यार्थी युनियनको सचिव पदमा उम्मेदवारी दिए। यो केवल चुनाव थिएन, यो उनको विगतको संघर्षको परीक्षण थियो। गाउँदेखि राजधानीसम्मको त्याग, रात–दिनको पसिना, विद्यार्थीहरूबीचको समर्पण—सबै कुरा त्यो एक मतपेटिकामा खन्याइएको थियो। नतिजा आयो—हिक्मत बुढा निर्वाचित भए। विद्यार्थी राजनीति जिते मात्र होइन, त्यो जीत उनले आफ्ना मतदाताहरूको मन जितेर पाएका थिए।

त्यसबखत उनका साथी सन्छ माया सुब्बा कोषाध्यक्षमा विजयी भए, कल्पना खतिवडा र निकिता उप्रेती सदस्य पदमा निर्वाचित भए। विश्वविद्यालयका सम्पूर्ण प्राध्यापक र कर्मचारी प्रशासन हरुको पनि समर्थन र साथ अनि आफ्नै भूगोलले ठूलो साथ दिएको थियो । पारिवारिक रूपमा राजनीतिप्रति साथ नपाए पनि उनले विजयको फहराएपछि भने परिवारमा छुट्टै खुशी र आशा छाएको थियो ।
चुनावी अभियानमा मनदेखि नै लागेर डटेर आर्थिक र भौतिक रूपमा सहयोग गर्नेमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडाल पनि अग्रपंक्तिमा छन् । विश्वविद्यालयमा उनैको सक्रियताले अहिलेको सकारात्मक परिणाम आएको धेरैको बुझाइ छ । अध्यक्ष पदमा सिद्दान्त भट्ट झिनो मतले पराजित भए पनि उनको लोकप्रियता र विद्यार्थीको मुद्धामा काम गर्ने प्रतिबद्धता आज पनि जीवित छ।
हिक्मतको यात्रा केवल चुनावी राजनीति होइन। उनले सधैँ संगठनलाई विचार र सेवाको संयोजनको रूपमा लिएका छन्। उनी विश्वविद्यालयभित्र भएका असमानता, प्रशासनिक असहजता र विद्यार्थीहरूको समस्यालाई समाधान गर्न सधैँ अगाडि रहे।
विश्वविद्यालयको चुनावी मैदानमा विभिन्न स्वतन्त्रहरु पनि हाबी भैरहेका थिए तर विद्यार्थीहरुले बहुदलीय व्यवस्था वा लोकतान्त्रिक पार्टीका भ्रातृ संघसंगठनका उम्मेदवार हरुलाइनै विजयी बनाएर पठाएका छन् । जसले अहिलेको व्यवस्थामा पनि ठूलो अर्थ राख्छ । र, यसको पछाडिका प्रेरणा थिए– मदन विष्ट ।
मदन विष्टले सधैं भन्ने गर्दथे, ‘राजनीति त्यो फूल हो जसको सुवास सेवा हो, घाँस होइन जसमा लुटेरा गोठालो खेल्छ।’
हो, ‘हिक्मतलाई हिम्मत दिने मदन’ केवल एक वाक्य होइन, यो त एउटा सम्बन्धको परिभाषा हो । जहाँ एकजना नेता नेतृत्व सिर्जना गर्छन्, अनि एकजना विद्यार्थी त्यो नेतृत्वलाई अर्थ दिन्छ। हिक्मतको यो यात्रा अझै टुङ्गिएको छैन। उनी भन्छन्— ‘म मदन विस्टबाट सिकिरहेको छु, म पनि एकदिन कुनै हिक्मतलाई हिम्मत दिने बन्नेछु।’
र, यही हो विश्वविद्यालयको राजनीति— जहाँ पुस्ताले पुस्तालाई नेतृत्व सिकाउँछ, अनि राष्ट्र निर्माणको आधार तय गर्छ।