Techie IT
Wednesday, December 31, 2025 | बुधबार, पुस १६, २०८२
२०८२ पुस १६, बुधबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङसमानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना

समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना


काठमाडौं । समानुपातिक सूचीमा मनलाग्दी गरेको भन्दै रास्वपाभित्र चरम असन्तुष्टि बढेको छ भने पार्टी बाहिरबाट पनि चर्को आलोचना भइरहेको छ । समानुपातिक उम्मेदवार छान्न गरिएको प्राइमरी इलेक्सनकै बदनाम हुनेगरी सूची तयार भएपछि रास्वपाकै नेताहरुले असन्तुष्टि पोख्न थालेका हुन् ।

हुन पनि रास्वपाले समानुपातिक सूचीमा मनलाग्दी नै गरेको छ । पार्टी सभापति रवि लामिछानेले चुनाव जितेको चितवनको निर्वाचन क्षेत्रबाटमात्रै १६ जना समानुपातिका सूचीमा परेका छन् ।

त्यस्तै २२ जनाभन्दा बढी त काठमाडौंकै मात्रै छन् । तर बिडम्बना, सुदूरपश्चिमबाट रास्वपाको समानुपातिक सूचीमा शून्य सहभागिता छ । कुलमान घिसिङले ससुरादेखि छिमेकीलाईसम्म समानुपातिक सांसदमा राखेको विषय अर्को छ ।

त्यसैगरी बालेनले व्यवसायी चन्द्र ढकालका छोरादेखि एलिट वर्गका मान्छेलाई मात्रै सूचीमा पारेको भन्दै अर्काथरीले आलोचना गरिररहेका छन् । यसरी मनलाग्दी भएपछि रास्वपाका नेताहरुले प्रत्यक्ष, परोक्षरुपमा नेतृत्वको आलोचना गरेका हुन् ।

रास्वपा केन्द्रीय सदस्य तथा पूर्वसांसद डा। तोसिमा कार्कीले समेत खुलारुपमा यो बन्दसूचीप्रति असहमत जनाएकी छन् । उनले प्राइमरी इलेक्सनको धज्जी उडाइएको पनि टिप्पणी गरेकी छन् ।

पदाधिकारी र सचिवालयमा रहेकाहरूले समानुपातिकबाट नाम फिर्ता लिनुपर्ने समेत उनको मत छ । पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरू भनेको सधैँ ‘पोसिसन अफ बेनिफिटमा’ हुने र प्राइमेरीको भोटिङदेखि मूल्यांकनसम्म प्रभाव पार्न सक्ने उनको भनाइ छ । पार्टीको उच्च पदमा बस्नेहरूले प्रत्यक्षमा लड्ने हिम्मत राख्नुपर्ने तोसिमाको सुझाव छ ।

रास्वपाको बन्दसूचीमा परेकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पनि सूची सच्याउनुपर्ने बताएकी छन् । रास्वपाको प्राइमरी इलेक्सनमा संग्रौलाले महिलातर्फ दोस्रो सर्वाधिक मत ल्याएकी थिइन् । बन्दसूचीमा भने उनको नाम खस आर्य महिलातर्फ छैटौं नम्बरमा छ ।

ज्वाला रास्वपा सभापति रवि लामिछानेसँग निकट मानिन्छिन् । आफूलाई रविकी बहिनीका रूपमा चिनाउने स्वस्तिका लामिछानेले पनि बन्दसूचीप्रति असहमति जनाएकी छन् ।

स्वस्तिकाले पनि रास्वपाको प्राइमरी इलेक्सनमा भाग लिएकी थिइन् । खस आर्य महिलातर्फ उनलाई राम्रै मत पनि आएको थियो । तर, बन्दसूचीमा अटाइनन् । यसरी सुशासनका ठूला गफ गरेर राजनीतिमा जबरजस्त स्थापित हुँदै गरेका नयाँ दलहरुले पनि मनलाग्दी गर्न थालेपछि आमनागरिक भने निराश भएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT