काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् । बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरिएको थियो ।
सोमबार राति अबेर र मंगलबारसम्म गरेर कुल ६४ राजनीतिक दलले बन्द सूची बुझाएको आयोगले जनाएको छ । उक्त प्रणालीतर्फ ११० स्थानका लागि ६४ दलका गरी करिब तीन हजारभन्दा ४२४ उम्मेदवारको नाम बन्द सूचीमा समावेश भएको छ ।
बन्द सूची बुझाउने ६४ दलमध्ये ५४ दलको आफ्नो निर्वाचन चिह्न र १० दलबाट साझा निर्वाचन चिह्नमा उम्मेदवारी परेको छ । यसबीचमा कतिपय दलबीच एकता र सहकार्यको सहमति भएकाले राति अबेरसम्म बन्द सूची बुझाउने क्रम जारी रहेको थियो ।
आयोगमा ९३ राजनीतिक दलले यस प्रणालीमा उम्मेद्वारी दिन आवेदन दिएका थिए । प्राप्त बन्द सूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने र कार्यतालिकाअनुसार काम हुने बताईएको छ ।
आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि सच्याउनुपर्ने वा अपुग कागजात भएमा पुस २१ देखि २७ गतेसम्म मिलाउन दललाई समय दिनेछ । यही पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची जाँच गरिने आयोगले जनाएको छ । आगामी माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ ।